धनुषाका पाँच स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

आन्तरिक विवाद र बजेट बाँडफाँड प्रमुख समस्या

जनकपुरधाम  । समयसीमा बितिसक्दा पनि धनुषाका पाँच स्थानीय तहले अझै बजेट प्रस्तुत गर्न सकेको छैन् । धनुषाको १८ स्थानीय तहमध्ये १३ ले मात्रै निर्धारित समयसीमा भित्र बजेट प्रस्तुत गर्न सकेको छ भने पाँच स्थानीय तहले समयसीमा नाघिसक्दा पनि बजेट ल्याउन नसकेका हुन् ।

स्थानीय तहहरुले असार १० भित्र बजेट प्रस्तुत गरिसक्नुपर्ने बाध्यात्मक प्रावधान रहेपनि हालसम्म जिल्लाको तीन नगरपालिका र दुई गाउँपालिकाले बजेट प्रस्तुत गर्न सकेका छैनन् । निर्धारित समयसीमाभित्र बजेट ल्याउन नसक्ने स्थानीय तहहरुमा गणेशमान चारनाथ नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिका र धनौजी गाउँपालिका रहेका छन् ।

शहीदनगर नगरपालिकाका मेयर उदय बरबरीयाले नगरसभा सम्पन्न गरि बजेट पारित गरेर पठाउनु पर्ने सम्बन्धित निकायहरुमा पठाई सकेपनि केही प्राविधिक कारणबस सार्वजनिक गर्न नसकेको बताए । उनले अब छिट्टै आफ्नो नगरको बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको बताए ।

कमला नगरपालिकाका मेयर रामउदगार यादवले बजेट ल्याउने सम्बन्धमा जनप्रतिनिधिहरुबीच छलफल चलिरहेको र कुरा मिलेपछि दुई/चार दिनभित्रै बजेट प्रस्तुत गर्ने बताए । उनले यदि कुरा नमिले आफूले साउनमा मात्रै नगरसभा सम्भव देखिरहेको बताए ।

जनप्रतिनिधिहरुबीचको आन्तरिक विवाद तथा बजेट बाँडफामा कुरा नमिल्दा स्थानीय सरकारहरुले समयमा बजेट ल्याउन नसकेको स्थानीयहरु बताउँछन् । तर स्थानीय तहका प्रमुखहरुले आवश्यक तयारी नपुगेका कारण समयमा बजेट ल्याउन नसकेको भन्दै पन्छिने गरेका छन् ।

गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवले आवश्यक तयारी नपुगेकोले समयमा बजेट ल्याउन नसकेको स्वीकार गरे । उनले आउँदो १५ गते बजेट ल्याउने तयारी भईरहेको बताए ।

धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका रहेकोमा निर्धारित समयसीमाभित्र उपमहानगरपालिकासहित आठ नगरपालिका र चार गाउँपालिकाले मात्रै बजेट ल्याउन सकेका छन् ।

आर्थिक वर्ष ०७८-७९ का लागि जनकपुरधाम उपमहानगरपालिकाले एक अर्ब ५३ करोड ८७ लाख ६१ हजारको बजेट ल्याएको छ । मिथिला नगरपालिकाले ६५ करोड १८ लाख ५० हजार दुई सय ३० रुपैयाँको बजेट पेश गरेको छ भने सबैला नगरपालिकाले ६३ करोड ५२ लाख ५० हजार रुपैयाँको बजेट ल्याएको छ ।

हँसपुर नगरपालिकाले ६२ करोड ८० लाख ५६ हजार, क्षीरेश्वरनाथ नगरपालिका ६१ करोड २४ लाख ६१ हजार, विदेह नगरपालिकाले ५९ करोड, धनुषाधाम नगरपालिकाले ५६ करोड ५१ हजार, मिथिला बिहारी नगरपालिकाले ५० करोड ५५ लाख ५५ हजार र नगराईन नगरपालिकाले ४७ करोड १९ लाख रुपैयाँको बजेट पेश गरेको सो नगरपालिकाहरुले जनाएको छ ।

त्यस्तै गाउँपालिकातर्फ सबैभन्दा बढी बजेट मुखियापट्टी मुसहरनिया गाउँपालिकाले ४६ करोड ३५ लाख ३८ हजार ६ सय ८२ रुपैयाँको बजेट पेश गरेको छ भने औरही गाउँपालिकाले ३८ करोड १९ लाख ५० हजार, बटेश्वर गाउँपालिकाले ३६ करोड १५ लाख ५० हजार र लक्ष्मीनियाँ गाउँपालिकाले ३० करोड ३० हजार रुपैयाँको बजेट ल्याएको छ ।

धनुषाका केही स्थानीय तहहरुले चालु आर्थिक वर्षको बजेट समेत समयमा ल्याउन सकेका थिएनन् । आर्थिक वर्ष ०७७÷७८ को बजेट गणेशमान चारनाथ नगरपालिका, कमला नगरपालिका, मिथिला बिहारी नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकालगायतका स्थानीय तहले निर्धारित समयभित्रमा बजेट ल्याउन सकेका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *