मौद्रिक नीतिले अतिप्रभावित उद्योग–व्यवसाय पुनर्जागृत हुने व्यवस्था गर्नुपर्छ : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले ल्याउने तयारी गरिरहेको आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले कोभिडका कारण अतिप्रभावित उद्योग–व्यवसायलाई पुर्नजागृत गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।

आगामी मौद्रिक नीतिले अतिप्रभावित पर्यटन क्षेत्रका उद्योग, होटेललगायत पर्यटन क्षेत्रसँग जोडिएको व्यवसाय, स्टेशनरी उद्योगहरु, विज्ञापन जस्ता उद्योगलाई विशेष सहयोग हुने नीति ल्याउन उनले माग गरे । त्यस्तै, सरकारले घोषणा गरेको व्यवसायिक निरन्तरता कर्जा पूर्ण रुपमा कार्यान्वयन हुनु पर्ने बताए ।

‘व्यवसायिक निरन्तरता कर्जाको घोषणाले अतिप्रभावित व्यवसवायीमा उत्साह बढेको थियो,’ उनले भने, ‘यसको कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्छ ।’ नेपालको बैंकिङ प्रणालीमा व्यक्तिगत जमानी तथा धितोमा मात्रै ऋण दिने व्यवस्था रहेकोले परियोजनामा आधारित कर्जा (प्रोजेक्ट फाइनान्सिङ)को नीतिगत व्यवस्था गरेर कार्यान्वयनमा लानु पर्ने उनले बताए ।

‘धितोलाई मात्रै आधार बनाएर लिइने कर्जाको आधारमा गरिने व्यवसायीले तीव्र आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘त्यस कारण परियोजनामा आधारित कर्जाको व्यवस्था गर्नुपर्छ । यसका लागि आवश्यक नीतिगत व्यवस्था राष्ट्र बैंकले गर्नुपर्छ ।’ धितोरहित तथा परियोजनामा आधारित ऋण प्रवाहले देशमा तीव्र गतिमा उद्यमशीलता सिर्जना गर्न र ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सक्ने उनको भनाइ छ ।

त्यस्तै, धेरैजसो अनौपचारिक क्षेत्रलाई औपचारिक क्षेत्रमा ल्याउन राष्ट्रबैंकले अहिले लिएको भन्दा अझ आक्रामक रुपमा अघि बढाउनु पर्ने बताए । ‘डिजिटल भुक्तानी कारोबार बढाउन गभर्नर ज्युले धेरै आक्रामक कार्यक्रम अघि बढाउनु भएको छ तर यसमा अझ धेरै गर्न बाँकी छ,’ उनले भने ।

तरलता व्यवस्थापन सहज बनाउन वा तरलता पर्याप्त बनाउन घरजग्गा, अटो व्यापार र शेयर धितो कर्जाले सहयोग गर्ने भन्दै उनले यी क्षेत्रलाई सन्तुलित रुपमा अघि बढाउने नीति ल्याउन राष्ट्र बैंकले तीनवटै क्षेत्रका प्रतिनिधिसँग बसेर नीति बनाउनु पर्ने बताए ।

नेपाल व्यवस्थापन संघ (मान)ले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धीत अन्तरक्रियात्मक कार्यक्रममा शुक्रबार गोल्छाले यस्तो सुझाव दिएका हुन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *