निषेधाज्ञा उल्लंघन गर्ने १,९१५ सवारी साधनलाई कारबाही

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९ सय १५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय ८४ वटा गाडी र १ हजार २ सय ३१ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछपश्चात् छोडिने गरिएको जनाएको छ ।

साथै नयाँ भेरियन्टसहितको कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय ४६ जनालाई निस्शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ । कार्यक्रमअन्तर्गत हालसम्म जम्मा ४ लाख ५९ हजार ९७ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ९४ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ९ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको जनाएको छ ।

सो क्रममा १ हजार ७ सय २३ जनालाई रोकी सम्झाईबुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको ५३ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत ४ हजार ७ सय २७ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *