कांग्रेस प्रवक्ताको प्रश्न : जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने ? भनेर प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शर्माले प्रधानमन्त्री ओलीलाई न्यायको संरक्षक र समाधानको उत्प्रेरक बन्ने कि द्वन्द्व बढाउनतिर लाग्ने भनेर प्रश्न गरेका हुन् ।

प्रवक्ता शर्माले समय र संसार फेरिए पनि हाम्रा कैयन् सोच, व्यवहार र समाज अपेक्षित गतिमा नबदलिएको उल्लेख गरेका छन् । उनले भनेका छन्— ‘दशक लामो हिंसाको अन्त्य गर्न हामी समर्थ भयौं, तर दलित समुदायमाथि अनेक प्रकृतिको हिंसा अन्त्य भएको छैन । नयाँ संविधान निर्माण गर्न हामी समर्थ भयौं, तर संविधानअनुरुप न्याय र समानताको संस्कार निर्माण गर्न सफलता प्राप्त भएको छैन । यस्तो परिस्थितिमा देश बन्ने÷बनाउने परिभाषाभित्र सामाजिक रुपान्तरणको प्रश्नलाई गहन आत्मसात गर्दै नविन राष्ट्रिय विमर्श थालनी गर्न अत्यावश्यक भएको छ । हालैको एक घटनामा तपाईंको मन्त्रीमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ ।’

घटनाको अनुसन्धान , कारबाही र समाधानको एउटा निश्चित विधि हुने भन्दै उनले राज्यवादी रहने मुद्दामा मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिनु कानूनी र नैतिक कुनै कोणबाट तार्किक र न्यायोचित छ कि छैन ? भनेर प्रश्न उठाएका छन् ।

उनले सोधेका छन्नि-निश्चित घटना उजागर भएपछि त्यसको पक्ष–विपक्षमा नागरिक तहबाट धारणा व्यक्त हुँदै गर्दा बहसलाई तार्किक निष्कर्ष र न्यायको पक्षमा मोड्न, न्यायोचित समाधानको विधिमा समाजलाई आश्वस्त तुल्याउन, समाजमा आरोप–प्रत्यारोप एवम् द्वन्द्व बढ्न नदिन जिम्मेवार राज्यले विषेश सतर्कता र गम्भीरता राख्नुपर्नेमा त्यो जिम्मेवार भूमिकाबाट राज्यलाई विमुख गराउन लागिएको हो ?

राज्यको भूमिका जिम्मेवारपूर्ण बनाउन सकिन्न भने हिजो गाइएका समानताका गीतहरु र आज संविधानमा लेखिएका न्यायका अक्षरहरुको मुल्य के बाँकी रहन्छ ? भन्दै उनले प्रश्न रुपा सुनार र सरस्वती प्रधान बीचको संवाद र विवादको मात्रै नभइ प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्नेमा जोड दिएका छन् ।

विभेदका कारण अनेक अपमान, अवहेलना र हत्यासमेत समाजमा जारी रहेको तर्फ लक्षित गर्दै शर्माले शिक्षण अस्पतालबाट अजित मिजारको शव अझै उठेको छैन, नवराज विकहरुको घटना आलै छ । विभेदमुक्त समाजका लागि राज्यको सार्थक समन्वय र अभिभावकीय भूमिका देशले खोजि गरिरहेको तर पछिल्लो घटनामा राज्यकै भूमिका उपर गम्भीर प्रश्न उब्जिएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ– ‘हामी कस्तो समाज, कस्तो संस्कार र कस्तो न्याय प्रणाली स्थापित गर्न चाहन्छौं भन्ने प्रश्न हो । सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौं भन्ने पनि हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *