समृद्धिका याेजनामा पनि विराेध गर्ने प्रवृत्ति हाबी भयाे : आर्थिक सल्लाहकार दुगड (भिडिओसहित)

काठमाडौं । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले नेपालको आर्थिक समृद्धिमा खुट्टा तान्ने प्रवृत्ति बाधक रहेको बताएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित वर्तमान सरकारले देशको आर्थिक समृद्धिका लागि दूरदृष्टि राखेर काम गरिरहेको भए पनि सरकारलाई असफल बनाउने प्रयास भइरहेको उनले दाबी गरे । जे कुरामा पनि विरोध मात्रै गर्ने र सरकारलाई सफल हुन नदिन खुट्टा तान्ने प्रवृत्ति अहिले हाबी भएकाे र यसले देश विकासमा अवरोध सिर्जना गरिरहेको उनको भनाइ छ ।

‘सरकारले देशको आर्थिक समृद्धिका लागि राम्रा आयोजनाहरु अघि बढाइरहेको छ,’ मकालु खबरसँगको कुराकानीमा उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्तिपूर्ण भावना राखेर दूरदृष्टिपूर्ण आर्थिक समृद्धिको लक्ष्यसहित काम गरिरहेको भए पनि कतिपयले अवरोध सिर्जना गर्ने र आलोचना गर्ने काम मात्रै गरिरहका छन् । सफल हुन नदिन खुट्टा तान्ने प्रवृत्ति रहेसम्म देशले समृद्धि प्राप्त गर्न सक्दैन ।’

आम नागरिक, निजी क्षेत्र, अर्थशास्त्री सबै खुसी हुने बजेट ल्याएर सरकारले कार्यान्वयनमा लान लागेको उनले बताए ।

नेपालको ढुंगा, गिट्टी, बालुवाको उत्खनन गरेर भारत निर्यात गर्ने आगामी बजेटको नीतिगत व्यवस्था सही रहेको उनले दाबी गरे । ‘वातावरणलाई प्रभाव नपर्ने ढुंगे पहाडहरुबाट उत्खनन गरेर ढुंगा, गिट्टी, बालुवा भारत निर्यात गर्दा यसले देशको आर्थिक समृद्धिमा योगदान गर्छ,’ उनले भने, ‘सरकारले कुनै फाइदा नपाई अहिले पनि चोरी–निकासी भएर यस्ता पदार्थ भारत गइरहेको छ । र, जथाभावी उत्खनन गर्दा प्रकृतिमा समस्या पनि परिरहेकाे छ । त्यसो हुँदा वातावरण विनाश नगरी वैध तरिकाले भारतमा निकासी गर्ने र आर्थिक व्यापार घाटा पनि कम गर्ने लक्ष्य राखिएको हो ।’

आफू उद्योग तथा वाणिज्य राज्यमन्त्री हुनुभन्दा अघिदेखि नै मन्त्रालयअन्तर्गतको खानी विभागले ढुंगा, गिट्टी, बालुवाको उत्खनन गरेर भारत निकासी गर्ने अवधारणा अनुसार काम अघि बढाएको पनि उनले खुलासा गरे । उनले भने, ‘म उद्योग राज्यमन्त्री हुँदा मैले त्यो फाइल हेरेको थिएँ तर मैले सदर गरेको थिइँन,’ उनले भने, ‘म राज्यमन्त्रीबाट हटिसकेपछि यो नीति अघि बढेको हो ।’

त्यस्तै, नुनको व्यापारमा निजी क्षेत्रलाई समावेश गर्ने नीतिगत व्यवस्था आफ्नो सल्लाहमा नआएको समेत उनले प्रष्ट पारेका छन् । नुनको उत्पादन र बिक्री वितरणमा निजी क्षेत्रलाई समावेश गर्ने नीतिगत व्यवस्था बजेटले गरेको छ । त्यो नीतिगत व्यवस्थाको विभिन्न क्षेत्रबाट चर्को आलोचना हुँदै आएको छ । मसलाको व्यवसाय गर्ने र पहिला पनि नुनको उत्पादन र बिक्री वितरणको प्रयास गरेका दुगडकै दबाब, प्रभाव र सल्लाहमा सरकारले यस्तो नीतिगत व्यवस्था गरेको भन्दै आलोचना भइरहँदा दुगडको यस्तो भनाइ आएको हो ।

‘नुनको व्यवसायमा निजी क्षेत्र आउने हो भने के मोतीलाल दुगडले मात्रै नुन उत्पादन र बिक्री गर्न सक्छ छ र ?,’ उनले भने, ‘मेरो सल्लाहमा सरकारले यो व्यवस्था गरेको भए त म यसमा अपनत्व लिएर खुसी व्यक्त गर्थें । धेरैले मलाई नुनमा साल्ट ट्रेडिङको एकाधिकार तोड्न भूमिका खेलेको भनेर बजेट आउने वित्तिकै फोन गरेर शुभकामना पनि दिनुभयो । तर, मेरो आग्रह वा सल्लाहमा यो नीति आएको होइन ।’

सेन्चुरी मसला, हाेटेललगायतका क्षेत्रमा लगानी गरेका उनले नेपालमा औषधि जस्तो वस्तुको उत्पादन र बिक्री वितरणमा समेत निजी क्षेत्र समावेश भएकोले नुनको व्यवसायमा मात्रै निजीलाई रोक्नुपर्छ वा सरकारी संस्थानलाई मात्रै एकाधिकार दिनुपर्छ भन्ने धारणा नै गलत भएको पनि बताए ।

‘प्रतिस्पर्धा बढ्यो भने मूल्य घट्छ, गुणस्तर वृद्धि हुन्छ यसले आम उपभोक्तालाई के घाटा छ र,’ उनले भने, ‘साल्ट ट्रेडिङले पनि व्यापार गर्छ र निजीले पनि गर्छ यसले गर्दा मूल्य र गुणस्तर उपयुक्त हुने थियाे,’ उनले भने, ‘तर, जेमा पनि आलोचना गर्ने बानीका कारण हाल यो विषयलाई उचालेर मलाई जोडेर आलोचना गर्ने काम भयो । यस्ता आलोचनाबाट म विचलित हुने मान्छे होइन ।’

नेपालको अर्थतन्त्रलाई उद्योगी व्यवसायीले राम्ररी बुझेकोले उद्योगी, व्यवसायी राजनीतिमा आउने हो भने देश अझ समृद्ध हुने समेत उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *