राष्ट्रिय कविता महोत्सव २०७८ मा पहिलो भएको कविता- देशको नक्सा

देशको नक्सा

म कोरिरहेकी छु
देशको सग्लो नक्सा ।

खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू
जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा
आफ्नी आमाको मुहारचित्र ।

अनायस करेसाको डिल भत्किन्छ
पर्खाल उठाउँछु
सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन
कुर्कुच्चा दुखिन्जेल किच्छु/टाल्छु
र मेट्छु धाँजाहरू !

विषाक्त हावा बोकिआउने आँधी
उडाउनै खोज्छ मलाई
बलेँसी चिरा पार्ने मुसलधारे वर्षा
बगाउन खोज्छ मलाई
छानाबाट झरेका पानीका तप्कनाले समेत
शिरदेखि पैतालासम्मै भिजाउँछ
तर पनि म उभिइरहन्छु पहाडजसरी
घरको मूल खाँबो समातेर
र कोरिरहन्छु सहस्र रेखाहरू !

ओ ! सिमाना काटिजाने चराहरू
पहाड भत्काएर बगिजाने खोलाहरू
देवल उठाइरहेका पौरखी धमिराहरू
माटोको दरबार उठाइरहेका कमिलाहरू
सुन,
भूगोलका यिनै मसिना रेखाहरूले त
जोडेकी छु मैले तीन कोटी स्वाधीन मुटुलाई
जहाँ उम्रिन्छ प्रेम र विश्वासको बिउ
र लटरम्म खुसीको घाम फल्छ !

छामिहेर त
आँखा चिम्लिएर आफ्नै मुटुको ढुकढुकी
हो, धड्किरहेको छ त्यहाँ
छुटेका भूगोलसँगै छुटेका मनहरू
एकाकार भएको
स्वाधीन देशको सग्लो नक्सा ।

(भोजपुरकी कवि राईको ‘आमा र जून’ कविता संग्रह—२०७५ प्रकाशनमा छ भने ‘गुरु’ उपन्यास प्रकाशोन्मुख छ ।)

प्रतिक्रिया

4 thoughts on “राष्ट्रिय कविता महोत्सव २०७८ मा पहिलो भएको कविता- देशको नक्सा

  1. गज्जबको कविता रहेछ । आञ्चलिक शब्दहरूको बुनोट सुन्दर लागे ।

  2. राष्ट्रिय अखण्डता र स्वाधीनता तथा राष्ट्र प्रेम र देशभक्ति ले ओतप्रोत सुन्दर मनमोहक कविता!

  3. बधाई छ कवयत्रीलाई उहाँ एक कुशल शिक्षक पनि हुनुन्छ🌺🌺🙏🙏

  4. बधाइ छ ! मार्मिक कविताकी सर्जकलाई |

Leave a Reply

Your email address will not be published. Required fields are marked *