संसदीय दलको बैठक : आफ्नै सांसदद्वारा चेपुवामा प्रदेश १ का मुख्यमन्त्री

विराटनगर । प्रदेश १ मा नेकपा एमालेको संसदीय दलको बैठक बजेटको बारेमा चर्चाचर्की परेको छ । अघिल्लो वर्षको बजेटमा हुबहु योजना कार्यक्रम ल्याउन भनिएकोमा अन्यत्र कार्यक्रम ल्याएको भन्दै संसदीय दलभित्र सरकारको आलोचना भएको हो ।

संसदीय दलमा सांसदहरुले पुँजीगत खर्च बढाएर चालु खर्च घटाउनुपर्ने माग राखेका छन् । मंगलबारदेखि बसेको नेकपा एमाले संसदीय दलको बैठकमा चालु खर्च १७ अर्ब बढी बनाएको तर पुँजीगत खर्च कम भएपछि सांसदहरूले मुख्यमन्त्री र सरकारको आलोचाना गरेका थिए ।

गतवर्षको बजेट तथा कार्यक्रमले समेट्न नसकेको योजनालाई यो वर्षको बजेटले समेट्ने भनिएपनि योजना तथा कार्यक्रम समाविष्ट नभएको एमाले सांसदले टिप्पणी गरेका छन् । एक सांसदका अनुसार वित्तीय समानीकरण अनुदानसहित चालु खर्च १७ अर्ब भएको तर पुँजीगत खर्च १५ अर्बको हाराहारीमा हुनुले चालु खर्च घटाएर पुँजीगत खर्च बढाउन संसदीय दलको बैठकमा दबाब दिइएको छ ।

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट विनियोजन गरेको छ । गतवर्ष ४० अर्बको बजेट ल्याएको सरकारले यो वर्ष बजेटको सिलिङ घटाएको छ ।

कुल विनियोजनमध्ये चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात् ४३ दशमलव ६ प्रतिशत बजेट विनियोजन गरिएको छ भने पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात् ४६ दशमलव ३ प्रतिशत छ ।

स्थानीय तहमा वित्तीय समानीकरण हस्तान्तरण अनुदानतर्फ ३ अर्ब २२ करोड ४२ लाख रहेको अर्थात् १० प्रतिशत रहेको बजेटमा उल्लेख छ । यसरी आएको बजेटमा संसदीय दलमा लफडा भएको हो ।

चालुखर्च घटाउने, नसमेटिएका योजना समेट्नेबारेमा संसदीय दलमा नेकपा एमालेले संयन्त्र बनाउने भएको छ । संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईले सांसदलाई जवाफ दिने क्रममा चालु खर्च घटाउने र नसमेटिएका योजना समेट्नका लागि संयन्त्रले दलको बैठकमा सुझाव दिनेछ । त्यसकै आधारमा थप छलफल गरेर मात्र अघि बढ्न सकिने ती सांसदले बताए । ५ दिनको समय दिएर बनाइएको संयन्त्रले संसदीय दलभित्र सांसदहरुले उठाएको प्रश्नको जवाफ खोज्नेछ ।

प्रदेश १ सरकारलाई अप्ठेरो पार्नका लागि नेकपा एमालेकै नेपाल समूहले सरकारले ल्याएको बजेटमाथिको प्रश्न उठाउँदै आएको थियो ।

मुख्यमन्त्री राईले सांसदले उठाएको प्रश्नमा संयन्त्रबाट चित्तबुझ्दो जवाफ नआएर प्रदेश १ को बजेट पारित हुन सकस हुने ती सांसदले मकालुखबरलाई जानकारी दिए । नेकपा एमालेको ५१ जना सांसद रहेको प्रदेश १ मा नेपाल समूहका १८ जना रहेको बताइन्छ । बहुमत रहेको एमालेभित्र सरकारले ल्याएको बजेटमा आफ्नै सांसदले अप्ठेरो पार्न सक्ने संकेत देखिएपछि संयन्त्र बनाउने गोटीको सहारामा मुख्यमन्त्री राई पुगेका छन् ।

‘हामीले उठाएको विषयहरुलाई संयन्त्रले अध्ययन गरेर ५ दिनमा बस्ने संसदीय दलमा पेश गर्नेछ,’ ती सांसदले भने, चित बझ्दो जवाफ आएन भने बजेट पास नहुन पनि सक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *