प्रदेश १ का सांसद भन्छन्- सरकारले ल्याएको बजेट र नीति तथा कार्यक्रममा तालमेल मिलेन

विराटनगर । प्रदेश १ को प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ को राजस्व र व्ययको अनुमानमाथिको छलफल सकिएको छ । दोस्रो दिनको छलफलमा सहभागी सांसदहरूले सरकारले ल्याएको बजेटसँग नीति तथा कार्यक्रमले तालमेल नखाएको बताएका छन् ।

उनीहरूले नीति तथा कार्यक्रममा एउटा आएको र बजेटमा अर्कै आएकाले बजेट कार्यान्वयनमा समेत आशंका व्यक्त गरे ।

‘बजेट मानसिक सन्तुलन गुमाएर लेखिएको’
नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले आगामी आर्थिक वर्षको बजेट निर्माणमा गम्भीर त्रुटी भएको आरोप लगाएका छन् । उनले बजेटमाथिको छलफलमा भाग लिँदै बजेटले मुख्यमन्त्रीलाई महाराज र श्री ३ बनाउने काममात्र गरेको बताए । ‘यो सपना देखेर ल्याइएको बजेट होइन, मानसिक सन्तुलन गुमाएर लेखिएको बजेट हो,’ उनले भने, ‘सामान्य नागरिकलाई देख्नेभन्दा पनि हेपेको छ, यो बजेट हावादारी बजेट हो ।’

सरकारले ल्याएको बजेटले नीति तथा कार्यक्रमलाई समेट्न नसकेको उनको भनाइ छ । ‘प्रदेश सभा पनि छ भन्ने बजेटले भुलेको उनले उल्लेख गरे । उनले भने, ‘सरकारमा बस्नेहरुले फर्किएर प्रदेश सभामा आउनुपर्छ भन्ने भुलेको छ ।’

‘गतवर्ष कोरोना महामारीको नाममा ल्याएको बजेट कहाँ गयो,’ प्रश्न गर्दै उनले कुनै कामै नगरेको सरकारले यो वर्ष फेरि स्वास्थ्यलाई प्राथमिकतामा राखेको भनेर ढाँटेको उल्लेख गरे । ‘शहीद भूमिमा नमुना बस्ती बनाउने भनेर सय दिने कार्यक्रमको रुपमा ल्याइएको थियो, कहाँ कहाँ छ त्यो बस्ती‚ हेर्न मन छ,’ उनले भने ।

सुनसरीकी सांसद उमिता विश्वकर्माले पुराना कार्यक्रम पुरा गर्नेतर्फ बजेटले खासै ध्यान नदिएको बताइन् । सरकारले बजेट विनियोजन गर्दा मन्त्रीको क्षेत्रमुखी बजेट विनियोजन भएको सांसद विश्वकर्माको भनाइ छ । दलित समुदाय सशक्तीकरण उत्थान र विकासका लागि ऐन जारी गर्ने भनिए पनि ठोस बजेट भने विनियोजन नभएको उनको तर्क छ । शब्दमा लेख्ने तर अंकमा शून्य राख्ने प्रवृत्तिले दलितमाथि पनि अन्याय भएको उनले बताइन् ।

‘हचुवामा बजेट आयो’
झापाका सांसद ओमप्रकाश सराबगीले स्पष्ट बजेट नबनाइएको र हचुवाको भरमा बजेट निर्माण भएको बताए । ‘पैसा कहाँ खर्च भयो थाहा छैन, गतवर्षको बजेटबाट पनि कोभिडको कुनै व्यवस्थापन भएन,’ उनले भने, ‘अक्सिजन, बेड र डाक्टर नै नभएकाले धेरै व्यक्ति मर्नुपर्ने अवस्था आयो ।’ यो वर्ष पनि स्वास्थ्य क्षेत्रमा बजेट छुट्याइएको भएपनि एकदमै कम छुट्याएको उनको भनाइ छ ।

संसदीय कोषमा पैसा राखेर पनि काम नभएको, गतवर्षको पारित रकम नपाएको अवस्थामा यो वर्ष पनि संसदीय कोषको पैसा दिन्छु भनेर सपनामात्र बाँड्ने काम भएको उनले बताए ।

No description available.

ताप्लेजुङका सांसद बलबहादुर साम्सोहाङले भौतिक पूर्वाधारको बजेट कटौती गरी कृषिमा बजेट बढाउन माग गरे । ‘भौतिक पुर्वाधारमा ४० प्रतिशत बजेट छ,’ उनले भने, ‘यसले नागरिकलाई तत्काल उपलब्धि दिँदैन, भौतिक पुर्वाधारको बजेट कटौति गरेर कृषिमा बजेट बढाऔँ ।’

‘झुटहरुको पुलिन्दा’
ओखलढुंगाका सांसद मोहनकुमार खड्काले नीति तथा कार्यक्रमसँग बजेट मेल नखाएकाले बजेटलाई उनले झुटहरूको पुलिन्दा भएको दाबी गरेका छन् । खड्काले आजको मितिसम्म पनि रकमान्तर गर्ने र असारे बजेटको रुपमा बजेटलाई उडाउने काम भएको बताए । उनले चालु खर्चमात्र साँढे १७ अर्ब रहेको भन्दै अघिल्लो वर्षको भन्दा धेरै रहेकोमा आलोचना गरे ।

मोरङका सांसद लोकप्रसाद संग्रौला र शिवनारायण सिंह गन्गाईले प्रदेशको बजेट कार्यान्वयन अधोगतितर्फ गएको बताए । ‘विगतको बजेटमा भ्वाङ परे‚ छिद्र परे भनिएको छ,’ सांसद संग्रौलाले भने, ‘हामीले कसरी त्यस्तो भयो भनेर जवाफ माग्दा दिइएको छैन ।’ स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट कमजोर भएको टिप्पणी गर्दै कार्यान्वयनमा नै नजाने बजेट ल्याएको हो कि भन्ने आशंका उत्पन्न भएको उनले बताए ।

उनले मेचीलाई २ सय बेड, पाँचथर र धनकुटालाई १ सय बेड बनाउने भनेर स्तरोन्नति गरिने भनिएको पनि कार्यान्वयनमा आशंका उब्जिएकाले कार्यान्वयनमा जानुपर्ने बताए । सांसद गन्गाईले हावादारी बजेट आएको भन्ने स्पष्ट भएको समेत आरोप लगाए । गन्गाईले विविधमा ३ अर्ब ७२ करोड ५७ लाख लुकाएर राखिएको भन्दै आलोचना गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *