‘स्वास्थ्यको बजेट कमजोर, फजुल खर्च धेरै आयो’

विराटनगर । प्रदेश १ सभामा बजेट माथिको छलफल शुरु भएको छ । बजेट माथिको पहिलो दिनको छलफलमा ४ जना सांसदले भाग लिएका छन् । माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारले लिएको आर्थिक वृद्धिदर ६ प्रतिशत हासिल गर्न नसक्ने बताए । उनले अर्थिक पुनरुत्थानका लागि कुनै पनि सहयोग कार्यक्रम नल्याएको, साना उद्योग कोभिडका कारण समस्याग्रस्त भएको, अर्थतन्त्र चलायमान बनाउने कुनै योजना नै बजेटले नसमेटेको आङ्बोको भनाइ छ ।

बजेटको प्राथमिकता स्वास्थ्य क्षेत्र हो भनिएको तर ३ अर्ब २५ करोड भनिएको भएपनि १ अर्ब ६० करोडमात्र देखिन आएको उनले बताएका छन् ।

‘असाध्यै न्यून बजेट स्वास्थ्य क्षेत्रमा रहेको छ,’ उनले भने, ‘कोभिड नियन्त्रण र रोकथामसँग सम्बन्धित कुनै कार्यक्रम छैन ।’ आङ्बोले कुनै गरिब मान्छे उपचारका लागि अस्पताल जानुपर्‍यो भने ५० हजार धरौटी राख्नुपर्छ, आइसीयू छिर्नुपर्‍यो भने २ लाख धरौटी राख्नुपर्छ । त्यसलाई कुनै बजेटले सम्बोधन नगरको र एउटा गरीब व्यक्ति उपचार नपाएर मर्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

उनले पुर्वाधार विकासका कार्यक्रम पनि सफल हुन नसक्ने खालको भएको आरोप लगाए । रोजगारी सिर्जनामा पहल नभएको र शिक्षामा स्तरोन्नतिका लागि पनि सरकार नदेखिएको बताए ।

एमालेका सांसद राजेन्द्रकुमार राईले मन्त्री वा जनप्रतिनिधिले भन्दा पनि कर्मचारीले बजेट ल्याएको आरोप लगाए ।

‘फजुल खर्चमा धेरै बजेट राखिएको, निर्वाचन पुर्वाधार विकास कोषको पैसा काट्ने, सांसद, कर्मचारीको पैसा पनि काट्ने , विभिन्न तालिम गोष्ठीका नाममा रकम उठाउने खालको बजेट आएको छ,’ उनले भने, ‘मन्त्रीहरुले जनप्रतिनिधिले बेगरको बजेट नबनाउँदासम्म र कर्मचारीले बजेट ल्याउँदासम्म यस्तै अवस्था बजेटमा आउनेछ ।’

सांसद राईले अनुसार गाडी खरिदमा २९ करोड, विभिन्न सफ्टवेयरका कार्यक्रममा ३ अर्ब ९९ करोड, तालिममा ३६ करोड, अनुगमन मुल्यांकनमा ११ करोड, सांस्कृतिक पुजापाठमा ३२ करोड र मनोरञ्जन चियापानमा ८ करोड भनेर फजुल खर्च बजेटमा ल्याइएको बताए ।

तेह्रथुमका सांसद लक्षुमन तिवारीले बजेटमा आम्दानीको स्रोत सुरक्षित देखिए पनि यो सरकार ऋण लिएर समृद्धिको बाटोमा जान डराएको बताए । उनले आन्तरिक राजस्व नबढ्दा प्रदेश सञ्चित कोष कमजोर भएको स्मरण गराए । ‘स्वास्थ्य क्षेत्रमा ठुलो बजेट छुट्याएको भनिएको छ‚ तर गत वर्ष औषधिमा ३० करोड छुट्याइएकोमा यो वर्ष ११ करोडमात्र छुट्याउँदा तेस्रो भेरियन्टको बेला कसरी व्यवस्थित गर्ने भन्ने प्रश्न उब्जिएको छ,’ तिवारीले भने । उनले पनि यो वर्षको बजेट पनि कर्मचारीमैत्री नै भएको बताए । तिवारीका अनुसार बजेटमा ६१ करोड बाँडचुड गरेर सक्ने गरी फजुल खर्च राखिएको छ । उनले यो बजेट जनमुखी नभएको दाबी गरे ।

कांग्रेसका सांसद शेखरचन्द्र थापाले सरकारले यो वर्ष पनि पहिलेकै जस्तो समान प्रकृतिका बजेट ल्याएको बताए । सरकारले ल्याएको ५ वटा बजेटमध्ये ४ वटा पूर्णकालीन र एउटा अल्पकालीन ल्याएको छ । सांसद थापाले आयस्रोतको अनुमान बेगर बजेट निर्माण हुने गरेकाले कार्यान्वयनमा जान नसक्नुको कारण अघिल्लो आर्थिक वर्षको बजेटलाई लिन सकिने बताए ।

‘बजेट आयस्रोतको सुनिश्चितता बेगरको आकारमा आएको, कार्यान्वयनको आधार नै तय नगरी बजेट निर्माण भएको छ‚’ सांसद थापाले भने, ‘आवश्यकता र प्राथमिकतालाई ख्यान नगरी दबाबको भरमा बजेट आएको छ, सरकारले ल्याएको लागत र परिणामलाई ख्याल नै नगरी ल्याइएको यो प्रचारमुखी बजेट हो ।’

थापाका अनुसार सरकारले सपना र भ्रमका लागि वितरणमुखी बजेट दिएको थियो भन्ने तथ्य प्रस्तुत भएको छ । प्रदेश सभाको अर्को बैठक मंगलवार दिउँसो २ बजेलाई बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *