पर्यटन क्षेत्रका कर्मचारीलाई नागरिक लगानी कोषको विशेष सापटी सेवा

काठमाडौं । नागरिक लगानी कोषले कोभिड प्रभावित पर्यटन क्षेत्रका कर्मचारीलाई विशेष सापटी सेवा प्रदान गर्ने भएको छ । पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीले नागरिक लगानी कोषबाट सञ्चालित कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहे उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

कोभिड १९ को संक्रमणलाई मुलुकभित्र फैलिन नदिन निषेधाज्ञा गर्दा पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, ट्रेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारी तुलनात्मक रुपमा बढि प्रभावित भएकाले यी क्षेत्रका कर्मचारीलाई यस्तो व्यवसथा गरेको जनाएको हो ।

यसले मुलुकको हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भए पनि राहत र सहयोग पुर्याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको जनाएको छ । कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधाअन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने जनाएको छ ।

कोषका अनुसार यस सापटीमा कर्मचारी वचत बृद्धि अबकाश कोषले दिने व्याजदर सरह नै लिने व्याजदर निर्धारण गरिएको छ । यसको अर्थ लिने र दिने ब्याजदरको अन्तर शून्य रहेको छ । यस्तो सुबिधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्वद्ध सहभागीलाई २०७८ पौष मसान्तसम्म उपलब्ध गराइने छ । उक्त सापटी रकम सापटी लिएको २ वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *