टेलिकमको आईपी टिभी सेवा लुम्बिनी प्रदेशको भैरहवा क्षेत्रमा सुरु

काठमाडाैं । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले आइतबारदेखि एफटीटीएच (फाइबर टु द होम)मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । एनटी टिभी ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण शुरु गरिएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको बताए । टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपछि ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा आउने जनाएको छ ।

टेलिकमका अनुसार हाल वितरित एनटी टिभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानल उपलब्ध रहेका छन् । यसका साथै नेपालमा उपलब्ध र हेरिने प्राय सबै विदेशी टेलिभिजन च्यानल ग्राहलाई उपलब्ध हुनेछ । हाल कम्पनीले वेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टिभी सेवा उपलब्ध गराइरहेको छ । वेसिकमा १०२ वटा टेलिभिजन च्यानल र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानल हेर्न सकिन्छ ।

नेपाल टेलिकमले २०७७ पुष १७ गतेदेखि एनटी टिभी सेवाको वितरण शुरु गरेको थियो । हाल यो सेवा काठमाडौं उपत्यकाबाहेक बनेपा र चितवनमा पनि उपलब्ध छ ।

एनटी टिभी सेवाको प्याकेज तथा दररेट र सेवा उपलब्ध हुने स्थानहरु सम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *