राहत (कविता)

बाढीले विक्षत सपनाहरूको बस्तीमा
हिँड्यो केही मान्छेको लर्को
एउटाले बोक्यो डिएसएलआर क्यामेरा
एक बोरा नुन
अलिकति चामल
अलिनो आँसुमा मिसाउने चिनी
तेलको पोका
जिब्रो हराएकाहरुलाई बिस्कुट
टिफिन बक्स खोजी हिँड्ने चाउचाउ
जिन्दगीजस्तो पन्यालो प्लास्टिकमा दाल ।

यसरी उत्सवमा झैँ आइपुग्यो
राहतको टोली
एङ्गल मिलाएर राखियो क्यामेरा
उत्साहको जून लिएर
हुरुर्र आइपुगे गाउँका केटाकेटी
आफन्त गुमाएका
पहिरोले खेत बगाएका
बास भत्किएका
क्लान्त पीडामा रोइरहेका आँखाहरू पनि आइपुगे
अनुहार भासिएका ती मान्छेहरु पंक्तिबद्ध उभिए
वितरण गरियो राहतको सामग्री ।

केटाकेटीलाई पर धपाउँदै
खिचिए तस्वीरहरु
लिइयो मोबाइलमा सेल्फी
कुनै प्रहसनमा झैँ डायलग सिकाइयो
र कैद गरियो भिडिओ ।

छापियो अनलाइनमा समाचार
अपलोड गरियो फेसबुकमा तस्वीर
सार्वजनिक गरियो राहत वितरणको भिडिओ
संवेदना बेचेर हिट खायो यो समूह ।

यो सब देखेर
यता अर्को समूह बजारमा
चामल, दाल, नुन, चिनी बटुल्न हिँडिसक्यो ।

प्रतिक्रिया

One thought on “राहत (कविता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *