दातृ निकाय गुहार्दै विराटनगर महानगरपालिका

विराटनगर । विराटनगर महानगरपालिकाले विद्यमान कोरोना भाइरसका कारण उत्पन्न स्वास्थ्य समस्या निराकरणका लागि अन्तर्राष्ट्रिय निकायसँग सहयोग माग गरेको छ ।

संघीय र प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ नियन्त्रणका लागि खोपका साथै स्वास्थ्य सामग्री सहजरुपमा उपलब्ध गराउन नसकेको महानगरको निष्कर्ष छ । संघ र प्रदेशले कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन नसकेको भन्दै महानगरपालिकाले भगिनी सम्बन्ध कायम भएका अन्तराष्ट्रि«य सहर र विभिन्न दातृ संस्था संग सहयोगको लागि अपिल गरेको हो ।

महानगरपालिकाका मेयर भीम पराजुलीले सरकारले स्थानीय तहमा जनघनत्व अनुसार खोप, स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्दा समस्या भएको गुनासो गरेका छन् । ‘खोप खरिदका लागि संघीय सरकारको अनुमति आवश्यक हुने हुँदा खरिद प्रक्रियामा अघि बढ्न सकिएको छैन,’ उनले भने, ‘सरकारले उपलब्ध गराएको खोप पनि अपुग छ । जनगुनासो बढ्दो छ । जसकारण खोप ल्याउन सरकारले सहज वातवरण बनाउन आवश्यक छ ।’

विगतमा विराटनगर महानगरसंग प्रत्यक्षरुपमा काम गरेका र लामो समयदेखि सम्बन्ध भएका देशहरुका साथै भगिनी सम्बन्ध कायम भएका र हुनगइरहेका शहरहरु तथा अन्तराष्ट्रिय सस्थाहरु यु.एन.डि.पि., करुणा फाउण्डेशन नेपाल, हेल्थ इन्भाइरोन्मेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेसन, रोटरी क्लव ईन्टरनेशनल र नीजि क्षेत्रले अत्यन्तै सहयोग गरेको भन्दै मेयर पराजुले उनीहरुसँग पनि सहयोगको माग गरे ।

महानगरले एक विज्ञप्ति जारी गरी दोस्रो चरणको कोभिडको नयां भेरियन्ट महानगरपालिकामा समुदाय स्तरमा फैलिएको र तेस्रो चरणको समेत भेरियन्ट आउने संभावनालाई मध्यनजर गरी महानगरलाई विगतमा सहयोगको माग गरिएको जनाईएको छ ।

महानगरले दातृ निकायहरु यु.एन.डि.पि., करुणा फाउण्डेशन, रोटरी क्लव ईन्टरनेशनललगायत विश्व स्वास्थ्य संगठन, चीनको उहाँन र उहुँ शहर, संयुक्त राज्य अमेरिकाको यु.एस.ए.आइ.डी, जापानको जाइका तथा सिटिनेट डि.आर.आर. अफिस योकोहामा, बेलायतको डि.एफ.आइ.डी, स्वीजरल्याण्ड सरकारको सहयोग समेतमा संचालित हेल्विटास र एस.डि.ए., कोरियाको कोइका तथा सिटिनेट सचिवालय सियोल, भारत, जर्मनी सरकारको दुतावासहरुलाई अतिआवश्यक स्वास्थ्य सामाग्री अक्सिजन, कन्सन्ट्रेटर, भेन्टिलेटर, भिटिएम, एन्टिजेन किट, अक्सिमिटर सहित कोरोनाको भ्याक्सिनको प्रबन्धकालागि सहयोगको लागि विज्ञप्ति अपिल गरेको छ ।

मेयर पराजुलीले महानगरले गरेको अपिललाई अन्तराष्ट्रिय सहयोगी संस्थाहरुले सहयोग गर्नेमा आशावादी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *