महाकालीमा बाढी: कञ्चनपुर डुबानमा, निर्माणाधीन पुल भत्कियो

कञ्चनपुर । महाकाली नदीको पारीगाउँ केन्द्रमा जल सतहले खतराको तह पार गरेको छ । नदीमा पानीको बहाव बढ्दै गएको र थप पानी पर्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

डडेल्धुराका तटीय क्षेत्रहरुमा दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो । यस्तै सुनकोशी नदीमा पनि नदीको बहाव बढेको छ । दोलालघाटलगायत नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।

लगातारको वर्षासँगै महाकाली नदीमा बाढी आएपछि कञ्चनपुरका केही बस्ती डुबानमा परेका छन् । महाकालीमा आएको बाढीका कारण नदी बस्ती तिर आएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाको केही बस्ती डुबानमा परेका हुन् । बाढीले भीमदत्त नगरपालिका–१२ स्थित ऐरी घाटको बस्ती डुबानमा परेको हो ।

ऐरी बस्तीको १० घर डुबानमा परेको र उद्दारको काम भइरहेको भीमदत्त नगरपालिका–१३ का वडाअधयक्ष लालबहादुर शाहीले जानकारी दिए । महाकाली नदीमा पानीको बहाव बढेपछि महाकालीमा निर्माणधीन ४ लेन पुलको ड्याम समेत भत्काएको अध्यक्ष शाहीले जानकारी दिए ।

उनका अनुसार ड्याम भत्काएपछि आवातजावात समेत बन्द भएको छ । अहिले पनि नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको स्थानीयले बताएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सम्भावित क्षतिलाई मध्यनजर गरी उद्दार टोली तयारी अवस्थामा राखिएको बताए ।

शनिबार बिहानसम्म महाकाली नदीमा पानीको स्तर १ लाख ६६ हजार क्वीसेक मापन गरिएको थियो । सामान्यतया महाकाली नदीमा ४० हजार क्वीसेक हुनुपर्नेमा धेरै बढेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार नै नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन अपील जारी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *