प्रदेश नं. १ : मनसुनजन्य विपद्मा यी क्षेत्र उच्च जोखिममा, पूर्वतयारी अपनाउन अपिल

विराटनगर । प्रदेश नं. १ का नागरिकलाई मनसुनजन्य विपद्बाट बच्न प्रदेश सरकारले अपिल गरेको छ । कुनै तयारी नै नभएको भनेर गुनासोहरु आइरहेको प्रदेश नं. १ मा जोखिमग्रस्त क्षेत्रका नागरिकलाई सचेत रहन भनिएको हो । प्रदेश नं. १ सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक अपिल जारी गर्दै हाल मुलुकमा मनसुन सक्रिय भइ देशका विभिन्न भागमा बाढी पहिरो, डुबान, कटानजस्ता विपद्का घटनाबाट ठूलो धनजनको क्षति भइरहेकोले सचेत रहन भनेको हो । मन्त्रालयले सबै नियकाहरुसँग समन्वय गरी पूर्वतयारी अवस्थामा रहेको भए पनि यसबाट सबै सचेत रहन भनेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमल थापाद्धारा हस्ताक्षरित अपिलमा प्रदेश नं. १ पनि विगतदेखि नै बाढी, पहिरो, डुबान, कटान, सर्पदंशजस्ता मनसुनजन्य विपद्बाट प्रभावित क्षेत्र भएकोले साबधानी अपनाउन भनिएको छ ।

यस प्रदेशमा अरुण, तमोरसहित मुलुककै सबैभन्दा ठूलो सप्तकोशी नदीका साथै कन्काई, मेची, बिरिङ्ग, बक्राहा, चिसाङ, मावा, रतुवा, त्रियुगाजस्ता नदीहरु तथा कैयन् अन्य साना खोला र खोल्साहरु रहेकोले यसबाट पनि जोखिम रहेको उल्लेख गरिएको छ । ‘पहाडी तथा हिमाली क्षेत्रमा हिमताल बिस्फोट, पहिरो, चट्याङको जोखिम रहेको छ,’ अपिलमा भनिएको छ— ‘झापा, मोरङ, सुनसरी र उदयपुरलगायत तराई र भित्री मधेशका जिल्ला बाढी, डुबान, कटान, चट्याङ, सर्पदंशजस्ता विपद्जन्य घटनाबाट बढी प्रभावित छन् ।’

कोभिड १९ को महामारीसमेत रहेको अवस्थामा मनसुनजन्य विपद्का घटनाबाट हुनसक्ने क्षतिलाई मध्यनजर गरी प्रदेशस्थित सबै सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्रलगायत सम्बन्धित सबै पक्षसँग समन्वय गरी पूर्वतयारी तथा प्रतिकार्य कार्यमा मन्त्रालय लागि रहेको जानकारी दिइएको छ । जल तथा मौसम विज्ञान विभागले यस बर्ष औषतभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको सन्दर्भमा यसका संकेतसमेत देखा पर्न थालिसकेको मन्त्रालयले जनाएको छ ।

‘खोला तथा नदी किनारका बस्तीहरु, डुबान तथा पहिरोजन्य स्थानका बस्तीहरु यस्ता घटनाबाट अझ बढी प्रभावित हुनसक्ने भएकोले यसबाट सचेत र सतर्क रहन मन्त्रालय नागरिकलाई अपिल गर्दछ,’ अपिलमा भनिएको छ— ‘विपद्का पूर्वतयारी तथा प्रतिकार्यका लागि एकजुट भएर अघि बढ्न सबै पक्षसँग अनुरोध गरिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *