भारतलाई पत्र पठाएको हप्तादिनसम्म आएन जवाफ, पुन: पठाइयो ताकेता पत्र

धनगढी । महाकाली नदीवारि नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरेर भारतले  गरिरहेको निर्माणको काम रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई ताकेता पत्र पठाएको छ ।

यसअघि सीमा क्षेत्रमा भएका ज्यादती रोक्न भारतको पिथौरागढस्थित धार्चुला जिल्लालाई पठाएको पत्रको कुनै जवाफ नआएपछि जिल्ला प्रशासन कार्यालयले भारतलाई पुनः ताकेता पत्र पठाएको हो । भारतले अहिले सीमा क्षेत्र हुँदै धार्चुला-लिपुलेक सडक निर्माण गरिरहँदा खसेको पहिरोले महाकाली वारि नेपालतर्फ दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङ र कञ्जु गाउँ जोड्ने नेपालतर्फको १ सय ५० मिटर घोडेटो/गोरेटा बाटोमा अवरोध भएको छ ।

नेपालतर्फको बाटो अवरोध भएपछि त्यसलाई हटाउन माग गर्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धार्चुलाका जिल्ला अधिकारी (डिस्ट्रिक मजिस्ट्रेड) आनन्द स्वरुपलाई पत्र पठाएका थिए । एक हप्ता बितेपनि कुनै जवाफ नपठाएपछि तोकेता गर्न पुनः पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

यसअघि भारतलाई जेठ २७ गते पत्र पठाइएको थियो । यसको जवाफ नआएपछि पुनः मंगलबार तोकता पत्र पठाएको हो ।

‘जेठ २४ गते भारतर्फबाट पहिरो खसेर नेपालतर्फको बाटो अवरुद्ध बनेपछि हामीले २७ गते अवरोध हटाउन आग्रह गर्दै पत्र पठाएका थियौं,’ प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘पत्र पठाएको पाँच दिन वितेपछि जवाफ नआएपछि पुनः ताकेता गर्दै मंगलबार अर्को पत्र पठाएका छौं, त्यसको पनि जवाफ आएको छैन ।’

पहिरोले गर्दा नदीमा खसेको चट्टानलाई पन्छाएर पानीको बहावलाई पुर्ववत् धारमा फर्काउन भारतीय पक्षसंग फेरिपनि आग्रह गरिएको उनले बताए । ‘धार्चुलाका जिल्ला अधिकारी स्वरुपसँग अनौपचारिक कुरा गर्दा माथिल्लो निकायमा पनि जानकारी गराउनुपर्छ, आदेश आउनुपर्छ भन्छन्‚’ प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘तर, पछि कुनै वास्ता गरिँदैन ।’

सडकको ट्र्याक खोल्नेक्रममा विस्फोट पदार्थ प्रयोग गर्दा महाकालीमा पहिरो खसेर नदीको बहाव नै परिवर्तन भएर नेपालतर्फ धकेलिएको छ । जसले गर्दा नेपालतर्फ बनाइएको घोडेटो/गोरेटो बाटो पूर्णरुपमा अवरुद्ध बन्न पुगेको हो । मानिसको आवातजावत बन्द भएको छ ।

यो सडक निर्माणका क्रममा तावाघाटदेखि बुदीसम्म महाकाली किनारको नेपालतर्फको जमिन तीव्र रूपमा कटान भइरहेको छ । त्यसप्रति नेपाल सरकारले उचित कदम चाल्न सकेको छैन । औपचारिकता पूरा गर्न भारतीय पक्षलाई कूटनीतिक र प्रशासनिक रूपमा ध्यानाकर्षण गराइहाले पनि उसले खासै चासो दिएको छैन ।

गृह मन्त्रालयले औपचारिकता पूरा गर्न परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको जनाएको छ । गृहले धार्चुला-लिपुलेक सडक विस्तारका क्रममा चट्टान खसेर दार्चुलाको व्यास गाउँपालिका-२, दुम्लिङ र कल्जु जोड्ने नेपालतर्फको बाटो भत्किएपछि गृहले सीमा क्षेत्रमा भएका यस्ता गतिविधि रोक्न कुटनीतिक माध्यमबाट पहल गर्न मंगलबार परराष्ट्रलाई पत्र पठाएको जनाएको हो ।

पत्रमा दाुर्चलाको व्यासस्थित काठेधारबाट टिंकरसम्म ८७ किलोमिटर सडक निर्माणको काम सुरु हुन लागेको र यसक्रममा विस्फोट गर्दा नदी किनारका दुवैतर्फ असर पर्न सक्ने भन्दै यसलाईसमेत दुवै देशका प्रतिनिधिबाट समाधान खोज्ने गरी पहल गर्न भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *