गण्डकी प्रदेश

शुक्रवार विश्वासको मत लिँदै मुख्यमन्त्री पोखरेल, त्यसपछि मन्त्रालय बाँडफाँट

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् । पोखरेलले असार ४ गते विश्वासको मत लिने प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री कुमार खड्काले जानकारी दिए । खड्काले भने— ‘उहाँले ४ गते नै विश्वासको मत लिँदै हुनुहुन्छ । यसका लागि प्रदेश सभा सचिवालयमा सूचना दर्ता भइसकेको छ ।’

खड्काकाअनुसार मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिएपछि मात्रै थप मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । ‘विश्वासको मत लिएपछि मात्रै मन्त्रालय बाँडफाँट गर्ने कुरा छ,’ खड्काले भनेका छन् । विश्वासको मत लिएर मन्त्रालय बाँडफाँट टुंग्याउने र प्रदेश सभामा बजेट छलफल अघि बढाउने पोखरेलको तयारी छ ।

जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले संवैधानिक व्यवस्थाअनुरुप एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ । नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता रहेका पोखरेल माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । गठबन्धनमा रहेका दलमध्ये जनमोर्चाले सरकारमा सहभागी नहुने बताइसकेको छ ।

त्यसबाहेक कांग्रेस, माओवादी र जसपाबाट मन्त्री बन्ने भएका छन् । हाल बिनाविभागीय मन्त्री रहेका खड्का र जनता समाजवादी पार्टीका हरिशरण आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय रोजेका छन् भने स्वतन्त्र सांसद दीपक मनाङ्गेले भने भौतिक पूर्वाधार नै रोजेका छन् ।

प्रदेशका ११ मन्त्रालयमध्ये कांग्रेस र माओवादीलाई ४/४, जनता समाजवादीलाई २ र स्वतन्त्र सांसद मनाङ्गेलाई १ गरी ११ मन्त्रालय बाँडफाँट गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *