हंगेरीसँग हार्दै नहारेको पोर्चुगल

काठमाडौं । युरो २०२० मा मंगलबार समूह एफ अर्थात ग्रुप अफ डेथका खेल हुँदैछन् । साविक च्याम्पियन पोर्चुगल हंगेरीसँग नेपाली समयअनुसार ९:४५ मा बुढापेस्टमा प्रतिस्पर्धा गर्दैछ । पोर्चुगल आफ्ना स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका साथमा मैदानमा उत्रिँदा उपाधि रक्षाको अभियानमा हुनेछ ।

पोर्चुगल युरोका पछिल्ला ६ संस्करणमा नकआउट पुग्ने एक्लो टीम हो । १९९६ यता पोर्चुगल लगातार नकआउट पुगेको छ । हंगेरी भने पोर्चुगलसँग अहिलेसम्म जितविहीन छ । यी दुई टीमबीच १३ खेल हुँदा पोर्चुगलले ९ खेल जितेको छ । ४ खेल बराबरी सकिनु नै हंगेरीका लागि सफलता भएको छ । २०१६ मा भएको युरोकपमा दुवै टीमले सनसनीपूर्ण ३-३ खेलको बराबरी खेलेका थिए ।

मुख्य प्रतियोगिता (विश्वकप, युरोकप) मा यी दुई टीमबिच तेस्रोपटक प्रतिस्पर्धा हुँदैछ । १९६६ को विश्वकपमा पोर्चुगल हंगेरीलाई ३-१ ले हराएर विजयी भएको थियो । यी दुईबीचका पछिल्ला ५ खेलमा पोर्चुगलले ४ खेलमा जित निकालेको छ ।

फिफा वरियताको पाँचौं नम्बरमा रहेको पोर्चुगल लगातार दुई पटक च्याम्पियन बन्दै स्पेनले २००८ र २०१२ मा राखेको कीर्तिमान बराबरी गर्ने ध्याउन्नमा छ । यद्यपि उसलाई समूहचरणको पहिलो खेलको इतिहासले भने झस्काउने छ । उसले पछिल्ला ५ मुख्य प्रतियोगितामा शुरुवाती खेलमा पराजित भएको छ । यो समयमा टीमले २ खेलमा हार भोगेको थियो भने ३ खेल बराबरी गरेको थियो ।

टीमले पछिल्लो पटक २००८ मा टर्की विरुद्ध ओपनिङ खेलमा २-० को जित निकालेको थियो। पोर्चुगलले युरो छनोटमा ८ मध्ये ५ खेलमा जित निकालेको थियो । १ खेलमा हार्दा २ खेल बराबरी गरेको थियो ।

फिफा वरियतामा ३२ औँ वरियतामा रहेको हंगेरी भने लगातार दोस्रो पटक युरोकपका लागि छनोट भएको हो । युरोकपमा हंगेरी समग्रमा ४ पटक छनोट भएको छ ।

यसअघि १९६४, १९७२ र २०१६ मा युरोकपा छनोट भएको छ । अघिल्लो संस्करणमा समुहचरणमा अपराजित रहेको थियो। जसमा उसले १ खेलमा जित निकाल्दा २ खेलमा बराबरी खेलेको थियो ।

हंगेरी र पोर्चुगलको यो मुख्य प्रतियोगितामा तेस्रो भेट हो । यसअघि १९६६ को विश्वकपमा ३-१ ले जितेको पोर्चुगल २०१६ को युरोकपमा ३-३ को बराबरी खेलेको थियो ।

तथ्य तथ्यांक
पोर्चगल आठौंपटक युरोपियन च्याम्पियनसिप खेल्दै छ र लगातार दोस्रो पटक उपाधि दौडमा छ । पोर्चुगल लगातार ६ संस्करणमा नकआउट पुग्ने एक्लो टीम हो ।

पेनाल्टी सुटआउट बाहेक पोर्चुगल पछिल्ला ११ खेलमा अपराजित छ। युरोपियन च्याम्पियनसिपमा जर्मनीसँग २००८ र २०१२ मा पराजित भएको थियो । सर्वाधिक अपराजित यात्रा स्पेनको रहेको छ । उसले २००८ देखि २०१६ सम्म १४ खेलसम्म अपराजित यात्रा कायम गरेको थियो‚ जसमा ११ लजमा जित र ३ खेलमा बराबरी गरेको थियो ।

हंगेरी लगातार दोस्रो पटक युरोपियन च्याम्पियनसिपमा छनोट भयो । त्यसअघिका १४ प्रतियोगितामा केवल २ पटकमात्र छनोट भएको छ ।

हंगेरी अघिल्लो संस्करणमा समुहचरणमा अपराजित थियो । जसमा एक जित र दुई बराबरी रहेका थिए। तर प्रतियोगिताको ८ खेलमा केवल २ जित दुई बराबरी र ४ हार भोगेको छ ।

हंगेरीका टप स्कोरर विली ओर्बानले छनोट चरणका पछिल्ला तीन खेलमा लगातार गोल गरेका छन् । यो प्रतियोगितामा पोर्चुगलका कप्तान तथा विश्वप्रख्यात फुटबलर क्रिस्चियनो रोनाल्डो पनि धेरैवटा कीर्तिमानको संघारमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *