चलचित्रको भूमिकाले विवादमा परेका बलिउड कलाकार

एजेन्सी । निर्देशक अलौकिक देसाई चलचित्र ‘सीता’ बनाउने तयारीमा छन् । जसको मुख्य भूमिकामा करीना कपूरको नाम चर्चामा छ । यो भूमिकाका लागि करीनाले १२ करोड पारिश्रमिक माग गरेको चर्चासमेत चलिरहेको छ । तर यस विषयमा कुनै आधिकारिक धारणा भने सार्वजनिक भएको छैन । खबर सार्वजनिक हुनासाथ करीनाको सामाजिक सञ्जालमा विरोध सुरु भएको छ । सञ्जाल प्रयोगकर्ताले ह्यासट्याग ‘बाइकट करीना खान’लाई ट्रेन्डमा ल्याएका छन् ।

सञ्जाल प्रयोगकर्ता भन्छन्, ‘करीनालाई सीताको भूमिका निभाउन दिनु हिन्दु धर्म र सीता माताको अपमान हो,’ त्यस्तै केही लेख्छन्, ‘तैमुरकी आमा सीता बन्न सक्दिनन् । कलाकारले यस प्रकारको विवाद भोग्नुपरेको पहिलो पटक भने होइन । यसअघि समेत धेरै चरित्रका लागि धेरै कलाकारलाई विवादमा ल्याइएको थियो । जस्तो कि :

सैफ अलि खान
सैफ अलि खानले चलचित्र आदिपुरुषमा रावणको भूमिका निर्वाह गर्दैछन् । एक अन्तर्वार्तामा उनले आफ्नो भूमिका राम्ररी निर्वाह गर्दै रावणको सकारात्मक पक्ष देखाउने प्रयास रहने बताएका थिए । रावणको प्रशंसा गरेकाले उनले धेरै आलोचना सुन्नुपर्‍यो । अन्तर्वार्ता सार्वजनिक हुनासाथ सञ्जाल प्रयोगकर्ताले उनलाई समेत बाइ कट भन्दै विरोध सुरु गरेका थिए ।

आमिर खान
सन् २०१४ मा रिलिज भएको चलचित्र पिकेले समेत धेरै विवादको सामना गर्नुपर्‍यो । यस चलचित्रमा आमिर खान एलियनको भूमिकामा देखिएका थिए । जो आफ्नो घर फर्किन भिन्न भिन्न धर्मको आस्थाका केन्द्र घुमिरहेका थिए । चलचित्रको एक सीनमा उनी भगवान् शिवको पहिरनमा आएका एक व्यक्तिलाई पछ्याउन थाल्छन् । यस सीनलाई लिएर केही हिन्दु अतिवादीहरूले धार्मिक भावनामा ठेस पुर्‍याएको आरोप लगाए । धेरै हिन्दु धर्मका गुरुहरूले मनोरञ्जनको नाममा चलचित्रमा देवीदेवताको मजाक बनाएको आरोप लगाउँदै विरोध जनाए ।

भूमि पेडनेकर र तापसी पन्नू
सन् २०१९ को चलचित्र साँढ की आँखमा तापसी पन्नु र भूमि पेडनेकरले ‘सुटर दादी’ प्रकाश तोमर र चन्द्रो तोमरको भूमिका निभाएका थिए । यस भूमिकामा फिट हुन अभिनेत्रीहरूलाई ‘प्रोस्ठेटिक मेकअप’ को माध्यमबाट वृद्धा देखाइएको थियो, जसको समेत विरोध भएको थियो । बढी उमेरको भूमिकाका लागि सोनी राजदान, नीना गुप्ताजस्ता अभिनेत्रीलाई लिन सकिन्थ्यो भन्ने जस्ता अभिव्यक्ति पनि आए । यो समूहमा कङ्गना रनावत समेत सामेल थिइन् ।

ऋतिक रोशन र भूमि पेडनेकर
सुपर ३० र बाला चलचित्रमा ऋतिक रोशन र भूमि पेडनेकरलाई अश्वेत रङ्गको बनाएर देखाइएको थियो । दुवैलाई मेकअपको माध्यबाट भूमिकाका लागि फिट गरिएको थियो । यहाँ पनि दर्शकको विरोधको आधार अश्वेत छाला भएका व्यक्तिलाई किन नलिएको भन्ने नै थियो । सुपर ३० मा ऋतिकले आनन्द कुमारको भूमिका निभाएका थिए, जुन भूमिकामा अर्का कलाकार पङ्कज त्रिपाठी फिट हुने भए पनि स्टारडमलाई ध्यानमा राख्दै उक्त भूमिकामा ऋतिकलाई कास्ट गराइएको भन्दै विरोध भयो ।

शाहिद कपूर र कियारा आडवाणी
२०१९ मा ‘कबिर सिंह’ चलचित्रमा दर्शकले शाहिद कपूरको फरक रूप देख्न पाएका थिए । एकातिर चलचित्रको चर्चा उच्च थियो भने अर्कोतिर कलाकारको भूमिकालाई लिएर विरोध पनि भइरहेको थियो । दर्शकलाई लागेको थियो कि यस चलचित्रमा शाहिदले निर्वाह गरेको भूमिकाले समाजमा नकारात्मक असर पार्नेछ । त्यस्तै कियाराको भूमिकालाई लिएर महिलावादी समूहले विरोध गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *