बीपी प्रतिष्ठानको अनियमितताबारे बोल्ने प्राध्यापकलाई कारबाहीको चेतावनी

काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएको भन्दै आवाज उठाउने प्राध्यापकलाई कारबाहीको चेतावनी दिइएको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानकै हाडजोर्नी विभागका सहप्राध्यापक डा. विष्णु पोखरेललाई स्पष्टिकरण पत्र लेख्दै कारबाहीको भागीदार हुन तयार रहन चेतावनी दिएका हुन् ।

डा. पोखरेलले प्रतिष्ठानमा व्यापक भ्रष्टाचार र बेथिति रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका थिए । प्रतिष्ठानमा भएको भष्टाचारविरुद्ध कारबाही अगाडि बढाउन ‘सोलिडारिटी फर डाक्टर गोविन्द केसी एलाइन्स’का अभियन्ताहरुले ‘एसएमएस अभियान’ चलेका थिए । उक्त अभियानको तस्विर डा. पोखरेलले आफ्नो सामाजिक सञ्जालमा साझा गरेपछि उपकुलपतिले कारबाहीको चेतावनी दिएका हुन् ।

साताअघि साझा गरिएको पोस्टमा, ‘बीपी स्वास्थ्य प्रतिष्ठानलाई ध्वस्त पार्ने, निजी मेडिकल कलेजलाई काखी च्याप्ने माफियालाई कारबाही गर्न अदुअआका प्रमुखलाई एसएमएस तथा फोन गरी दबाब दिऔं ।बीपीकेआईएचएसमा भ्रष्टाचारले ज्यान लिने, अख्तियारले तामासा हेर्ने कहिलेसम्म ?’ लेखिएको थियो ।

प्रतिष्ठानले सोही विषयलाई लिएर जेठ ३० गते डा. पोखरेललाई पत्र लेख्दै प्रतिष्ठानको नियमावलीविपरीत कार्य गरेको जनाएको हो । ‘बीपी प्रतिष्ठान नियमावली २०५५ को नियमावली १०.२६ बमोजिम आचारसंहिता विपरीत कार्य गरेको किन नभन्ने ? तपाईंलाई प्रतिष्ठानको सोही नियमावलीको नियम १०.७ बमोजिम कारबाही किन नगर्ने ?’ पत्रमा भनिएको छ ।

पत्रबारे थाहा छैनः डा. पोखरेल
सहप्राध्यापक डा. पोखरेलले आफूलाई प्रतिष्ठानले स्पष्टीकरण सोधेकोबारे थाहा नभएको बताएका छन् । ‘मैले पत्र पाएको छैन । मिडियामा आएको देखेँ । अनियमितताबारे आवाज उठाएकै हो,’ उनले भने, ‘आधिकारिक रूपमा पत्र पाइसकेपछि मेरो कुरा राख्छु ।’

विशुद्ध प्राज्ञिक स्थल भएकामा भ्रष्टाचार हुनु हुँदैन भन्ने मान्यताको आधारमा अख्तियारको ध्यानाकर्षण गराएको उनले बताए । ‘प्रतिष्ठानको सुधारका लागि आफू पटक-पटक बोल्दै आएको पनि उनले बताए । ‘यो राष्ट्रिय गौरवको प्रतिष्ठान हो । एसियाकै राम्रो बनाउन सकिन्छ,’ उनले भने, ‘अनियमितता रोकिनुपर्‍यो ।’

अख्तियारको छापा
यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा छापा मारेको छ । आयोगको टोलीले लेखा शाखा, खरिद शाखा तथा मूल्यांकन शाखाबाट महत्त्वपूर्ण केही कागजपत्र नियन्त्रणमा लिएको हो ।

आयोगको इटहरीस्थित कार्यालयबाट निमित्त कार्यवाहक प्रमुख पुरुषोत्तम ढकालको नेतृत्वको टोलीले प्रतिष्ठानका विभिन्न विभागका पदाधिकारीहरूसँग सोधपुछसमेत गरेको छ । आयोगको टोलीले शिक्षाध्यक्ष डा. गुरु खनालसँग भेटी लेखा शाखा, खरिद शाखा तथा मूल्याङ्कन शाखाबाट केही महत्वपूर्ण विषयमा विभागका कर्मचारीहरूलाई सोधपुछ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *