कृष्ण थापालाई थमौती गर्ने आदेशविरुद्धको ‘भ्याकेट’मा सुनुवाइ जारी

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापालाई गरेको कारबाही ‘थमौती’ गर्ने अन्तरिम आदेशविरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)उपर अहिले न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा जारी छ ।

जनमोर्चाले सर्वोच्चको आदेशविरुद्ध गत जेठ २६ मा अन्तरिम आदेश खारेज गर्न माग गर्दै ‘भ्याकेट’ निवेदन दर्ता गराएको थियो । पार्टीको निर्णय र ह्वीप नमानेको भन्दै जनमोर्चाले थापालाई दलबाट निष्कासन गरी प्रदेश सभा सचिवालयमा जानकारी गराएको थियो । त्यसपछि थापा पदमुक्त भएका थिए ।

त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले उनीमाथि गरेको कारबाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशविरुद्ध जनमोर्चासहित राजमोको गण्डकी प्रदेश सभा संसदीय दल, गण्डकी प्रदेश सभा सचिवालय र सभामुख नेत्रनाथ अधिकारीलगायतले पुनरावलोकनका लागि भ्याकेट निवेदन दिएका हुन् ।

थापाले भने आजको फैसला हेरेर कदम चाल्ने बताउँछन् । मकालु खबरसँग थापाले भने— ‘सुनुवाइ हुँदैछ । सुनुवाइपछि आवश्यक कदम चाल्छु । पार्टीले दोस्रो पटक मलाई कारबाही गरिसकेको छ त्यो पनि अवैधानिक बैठकमार्फत । अब आजको सुनुवाइपछि कस्तो खाले फैसला आउँछ त्यसमा भर पर्छ ।’ पुनः अदालत जानुहुन्छ ? भन्ने प्रश्नमा थापाल भने— ‘आजको फैसला सुनौँ पहिले अनि निर्णय गर्छु । आवश्यक उपचार त खोज्नैपर्यो ।’

पार्टीको पहिलो कारबाहीलाई सर्वोच्चले अमान्य भनेसँगै थापा पुनः सांसदकै हैसियतमा रहेका थिए । त्यसपछि पुनः पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले कारबाही गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *