उदयपुरका स्थानीय तह मिलेर संयुक्त अक्सिजन प्लान्ट निर्माण गर्दै

विराटनगर । सामूहिक कार्यले योजना सफल हुन्छ भन्ने उदाहरण उदयपुरका स्थानीय तहले प्रस्तुत गरेका छन् । अप्ठेरोमा एकै ठाउँमा बस्ने र छलफल गरेर योजना निर्माण गरि कार्यान्वयनको असल अभ्यास उदयपुरका स्थानीय तहहरुले गरेका हुन् ।

यसअघि सामूहिक निर्णय गरेर कोभिड अस्पताल निर्माण गरेका स्थानीय तहले अब अक्सिजन प्लान्ट निर्माणको लागि सम्झौता गरेका हन् । दैनिक ३८ सिलिन्डर (११ सय ५० मिटर क्युबिक प्रतिघन्टा) उत्पादन क्षमता रहेको अक्सिजन प्लान्टको लागि उदयपुरका ४ नगरपालिकाबाट १० लाखका दरले रकम संकलन गरिएको छ भने गाउँपालिकाबाट ५ लाख रुपैयाँ संकलन गरिएको छ ।

नगरपालिका र गाउँपालिकाबाट संकलित रकम अक्सिजन प्लान्ट निर्माणमा खर्च हुनेगरि पिडी इन्जिनियरिङ प्रालि काठमाडौं र बेलका नगरपालिकाबीच प्लान्ट निर्माणको सम्झौता भएको छ । नगर प्रमुख दुर्गाकुमार थापा र निर्माण कम्पनीका तर्फबाट धर्मराज पौडेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपछि पहिलो किस्तावापत् नगरपालिकाले निर्माण कम्पनीलाई ५८ लाख ५० हजार नगद भुक्तानी गरेको नगर प्रमुख थापाले बताए । प्रदेश २ को सप्तकोशी नगरपालिका र विभिन्न संघसंस्थाको पनि प्लान्ट निर्माणमा सहयोग रहने उनले जानकारी दिए ।

निर्माण कम्पनीले ३५ दिनभित्र प्लान्ट निर्माण गरेर हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । बेलकामा अक्सिजन प्लान्ट स्थापना भएपछि उदयपुरसँगै सुनसरी, सप्तरी, सिराहा, भोजपुर, खोटाङलगायतका जिल्लालाई पनि सहज हुने बताईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *