स्वास्थ्यकर्मीमाथि हातपात प्रयास गर्ने दुई पक्राउ

धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्न खोज्ने दुई जना पक्राउ परेका छन् । स्वास्थ्यकर्मीको लापरबाहीले नवजात शिशुको मृत्यु भएको भन्दै आइतबार अस्पतालमा तनाव सृजना भएको थियो ।

मृतक शिशुका आफन्तले अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । स्वास्थ्यकर्मीमाथि हातपात गर्न खोज्ने बैतडी डिलासैनी गाउँपालिका-६ का ३० वर्षीय लोकेन्द्रनाथ योगी र ३० वर्षीय नरेन्द्रनाथ योगीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए ।

शैल्यशिखर नगरपालिका-१ का ३२ वर्षीया बसन्तीनाथ शनिबार सुत्केरी हुन गोकुलेश्वर अस्पताल भर्ना भएकी थिइन् । महिला अस्पताल भर्ना भएको केही समयपछि शल्यक्रिया गरेर बच्चा निकालिएको थियो ।

जन्मिएको केही मिनेटमै शिशुको मृत्यु भएको थियो । शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तहरूले डाक्टरको लापरबाहीका कारण घटना भएको भन्दै आन्दोलित बनेका थिए । मृतकका आफन्तहरूले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिए हुन् ।

अस्पताल र स्वास्थ्यकर्मीको सुरक्षार्थ इलाका प्रहरी कार्यालय गोकुलेश्वर, प्रहरी चौकी शिखर, इलाका प्रहरी कार्यालय लटिनाथ र बैतडीबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *