घरभित्र पूजा गरेर समृद्धि आउँदैन : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारले ल्याएको नारा र कार्यक्रमलाई अन्यथा लिन नहुने बताएका छन् । हरेक वर्ष नयाँ नारामात्र आउने तर कार्यान्वायन नभएको भन्ने सांसदका गुनासोमा उनले नारा र सपनाले मात्र समृद्धिको बाटो निर्माण गर्ने बताए । प्रदेश १ सभाको आठौँ तथा बजेट अधिवेशनको सातौं बैठकलाई सम्बोधन गर्दै नारा, सपना र आकांक्षा नै नदेख्ने हो भने कुनैपनि काम गर्न नसकिने बताए ।

‘सपना र महत्वकांक्षा पुरा हुनका लागि परिस्थिति, स्रोत, कानुन, मानसिकता तथा ईच्छाशक्तिका कुराले पनि काम गर्छ,’ उनले भने, ‘कुनै नारा र महत्वकांक्षा बोकेर नहिँड्ने हो भने समृद्धि आउन सक्दैन । त्यसैले यसबाट नारा मात्र आयो भनेर आँत्तिनु पर्दैन ।’

‘सपना नदेख्ने हो भने घरभित्र बसेर पुजापाठ गरेर समृद्धि आउँछ त ?’ मुख्यमन्त्री राईको प्रश्न थियो, ‘हामीले सपना र नारा बोकेर हिँड्नैपर्छ ।’ सबै नारा पुरा हुन नसके पनि महत्वकांक्षा र ती नारा पुरा गर्नका लागि धेरै कुराले साथ दिनुपर्ने राईले बताए ।

उनले शिर निहुर्‍याउनुपर्ने तथा अप्ठेरो मान्नुपर्ने कुनैपनि काम सरकारले नगरेको पनि स्पष्ट पारे ।

खुवालुङको चिन्ता
सांसदले खुवालुङ फुटाउन खोजेको आरोप लगाएका सांसदलाई जवाफ दिँदै उनले आँतिनुपर्ने अवस्था नरहेको बताए । उनले खुवालुङको बारेमा सस्तो र भ्रामक प्रचार भएको, सेन्टीमेन्ट भड्काउने, चलखेल गर्ने, राजनीतिकरण तथा एकले अर्कोलाई कसरी प्रहार गर्ने र गराउने खालका प्रचार भएको उल्लेख गरेका छन् । सरकारले स्पष्ट रुपमा खुवालुङको संरक्षण गर्ने भनेर भनिसकेको अवस्थामा फेरि सशंकित हुने अवस्था नरहेको उनले बताए ।

‘खुवालुङ ढुंगामात्र हो भने फुटाउने भनिएको थियो, त्यो नभएपछि संस्कृति र सभ्यतासँग जोडिएको ढुंगा भएकाले कसरी फुट्न सक्छ र !’ उनले भने, ‘ढुंगामात्र हो भने फुटाउने ठाउँमा छ, तर त्यो ढुंगामात्र होइन‚ यसको संरक्षणमा ध्यान दिइएको छ ।’ आठौँ तथा बजेट अधिवेशनको सातौं बैठकमा नीति तथा कार्यक्रममाथि गरिएको छलफलमा ३२ जना सांसदले भाग लिएका थिए ।

मुख्यमन्त्रीले मागे माफी

नीति तथा कार्यक्रममा सहभागिता जनाएको अवस्थामा पुरै समय बसेर सुन्न नसकेको तथा कार्यव्यस्ताताले गर्दा सुन्न नपाएकोमा उनले संसदलाई सम्बोधनको क्रममा क्षमा मागेका छन् । नीति तथा कार्यक्रममा छलफलको क्रममा मुख्यमन्त्री नबसेको भन्दै सांसदहरुले आलोचना गरेका थिए ।  ‘म संसदमा बस्न नपाएपनि मैले सबै माननीयज्यूहरुले उठाउनुभएको विषयहरु सुनेको छु,’ उनले भने,‘ माननीयज्यूहरुले व्यक्त गर्नुभएको विचार, भावना, आलोचना र सुझावलाई धन्यवाद दिन चाहन्छु ।’
कोभिडका कारण अरु क्षेत्रसँगै नीति बजेट कार्यक्रम पनि प्रभावित भएको उनले बताए ।

रक्सी ब्रान्डिङका कुरा
नीति तथा कार्यक्रममा स्थानीय उत्पादनको अन्वेषण र बजारीकरणको कुरालाई रक्सीसँग मात्र जोडिएकोमा मुख्यमन्त्रीले ब्यान्ड भर्सेस ब्रान्डको कुराले केही सांसदलाई ज्वरो आएको प्रतिक्रिया दिएका छन् । उनले ब्यान्ड भर्सेस ब्रान्डको कुराले कतिपय सांसदलाई १०४ डिग्रीको ज्वरो आएको बताए ।

‘कोभिडको बहानामा कुनै क्षेत्रको अध्ययन नै नगर्ने ? घरेलु उत्पादनको ब्रान्डिङको अनुसन्धान नै नगर्ने ? के त्यो स्थानीय उत्पादन भनेको रक्सीमात्र हो ?’ उनले प्रश्न गर्दै भने, ‘कोरियाले पठाएको छ्याङ खाएर नेपाली गफिने, दक्षिण कोरिया, जापानका उत्पादनको प्रचार गर्न जान्ने तर घरेलु उत्पादनको बारेमा अनुसन्धान र ब्रान्डिङका कुरालाई अन्यथा लिन मिल्दैन ।’

प्रदेशको दीर्घकालीन स्रोतको खोजी गरेर अघि बढ्ने कुरालाई कुनैले नकार्न नहुने दाबी गरे । सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा नामाकरण टुंगो लगाएर मात्र बर्खे अधिवेशनको अन्त्य गर्न उनले सांसदहरुलाई आग्रह गरे ।

यसैबीच प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । अर्को बैठक आगामी असार १ गते ३ बजेलाई बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *