प्रदेशको समग्र विकासका लागि काम गर्छु : मुख्यमन्त्री पोखरेल

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफू नेतृत्वको सरकारले प्रदेशको समग्र विकासका लागि काम गर्ने बताएका छन् । शनिवार मुख्यमन्त्री कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री पोखरेलले भने— ‘यो सरकारले प्रदेशको समग्र विकासका लागि काम गर्नेछ । हिजो अर्को सरकार थियो, आज अर्को सरकार बनेको छ । तर, दायित्व उही नै हो । दायित्व सर्दै आएको छ । हिजोको सरकारले गरेको कामहरुलाई निरन्तरता दिन्छ यो सरकारले ।’

यस्तै मुख्यमन्त्री पोखरेलले प्रदेशमा कोरोना महामारीविरुद्धको विशेष कार्यक्रमसमेत सरकारले छिट्टै ल्याउने बताए । भने— ‘अहिलेको सबैको समस्याको विषय भनेको कोरोना संक्रमण नै भएको छ । यसबारे पनि सरकारले चाँडै कार्यक्रमहरु ल्याउँछ । अहिले पनि कतिपयसँग यी कुराहरुबारे जानकारी लिँदैछु ।’ जनताका मूल समस्यालाई पहिल्याएर आफू नेतृत्वको सरकार अघि बढ्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

सरकारले नीति तथा कार्यक्रमसँगै बजेट पनि निर्धारित समयमै ल्याउने मुख्यमन्त्री पोखरेलले वचनबद्धता गरे । ‘समय एकदमै छोटो छ तर, सरकारलाई नीति तथा कार्यक्रम र बजेट निर्धारित समयमै ल्याउनुपरेको बाध्यता छ । र, सरकारले यो विषयमा सोचविचार पुर्याएको पनि छ । हामी त्यसको तयारीमै छौँ । सरकारले सन्तुलित खालको बजेट भाषण समयमै गर्नेछ । यसको तयारीमा प्रदेश सरकार छ ।’

मन्त्रीपरिषद्मा अन्य सदस्यहरु पनि चाँडै नै नियुक्त गर्ने मुख्यमन्त्रीको भनाइ छ । नियुक्ति र कार्यविभाजनबारे गरिएको प्रश्नमा मुख्यमन्त्री पोखरेलले भने— ‘अब चाँडै नै कार्यविभाजनदेखि अन्य मन्त्रालयमा मन्त्री नियुक्तका कामहरु हुन्छ ।’ तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सदनबाट विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री बनेका पोखरेलले शनिवार नै ४ जनालाई मन्त्री बनाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *