‘घुस लिएको रकम’ फालेर भागेका गाउँपालिका अध्यक्ष फर्किए, कार्यालय प्रवेश गर्न नदिने तयारी

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पछ्याएपछि पैसा फालेर भागेका धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत साढे तीन महिनापछि घर फर्किएका छन् । उनी गत फागुन १७ गते घुस वापतको भनिएको ८ लाख रुपैयाँ फालेर भागेका थिए ।

स्रोतका अनुसार उनी अख्तियार दुरुपयोग अनुसनधान आयोगको सफाई पत्र लिएर घर फर्किएका हुन् । बटेश्वर गाउँपालिका-४ स्थित उनकको निवासमा अहिले एमालेको ओली समूहका नेता कार्यकर्ताको भीड लाग्ने गरेको छिमेकीहरु बताउँछन् । राउट २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । त्यतिखेर माधव नेपाल पक्षमा रहेका उनी पछिल्लो समय कारबाहीबाट बच्न ओली समूहमा लागेको स्थानीयबासिन्दाहरुको भनाई छ ।

फागुन १७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलीले धनुषाको सखुवा महेन्द्रनगरबाट स्टिङ् अपरेशनका क्रममा आफूलाई पछ्याएको थाहा पाएपछि उनी ८ लाख रुपैयाँ फालेर भागेका थिए । उनले फालेको ८ लाख रुपैयाँ सुख्जोर खोलाको किनारबाट अख्तियारको टोलीले बरामद गरेको थियो । त्यो रकम घुस वापतको भएको अख्तियारको दाबी छ । उनले कार्यालयको निर्माणाधीन भवन योजनाको भुक्तानी गर्दा ठेकेदारबाट ८ लाख रुपैयाँ घुस लिएको सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई पछ्याएको थियो ।

अध्यक्ष राउत पक्राउ नपरे पनि बटेश्वर बजारबाट उनी चढ्ने प्रदेश २-००२-००१ झ ०००२ नम्बरको सरकारी गाडीसहित चालक वीरबहादुर मगरलाई अख्तियारले पक्रेको थियो । घटनापछि ‘फरार’ रहेका अध्यक्ष राउत घरमा नआएपनि आफन्त र एमाले नेताहरुको सम्पर्कमा रहेको उनी निकट श्रोतले जानकारी दिएको छ ।

घुस रकम फालेर यसरी भागेका थिए अध्यक्ष राउत
अध्यक्ष राउत १७ गएको फागुन १७ गते अपरान्ह ४ बजे गाउँपालिकाको निर्माणाधीन भवन योजनाको भुक्तानीमा ८ लाख रुपैयाँ घुस लिन धनुषाको महेन्द्रनगर पुगेका थिए । गाउँपालिकाकै प्रदेश २-००२-००१ झ ०००२ नम्बरको सरकारी गाडी चढेर पुगेका उनले सो रकम लिएको गोप्य सूचनाको आधारमा अख्तियारले त्यहीँबाट पछ्याएको थियो ।

अख्तियारले पछ्याएको खबर पाएपछि अध्यक्ष राउत भागेको अख्तियारको दाबी छ । भाग्ने क्रममा औहरी खोलाको किनारमा उनले पैसा भएको झोला फालेका थिए । चालक मगरले तीव्र गतिमा गाडी कुदाएर अध्यक्ष राउतलाई बाटोबाटै भाग्न सघाएका थिए । भाग्दै गर्दा गाउँपालिकाको कार्यालय पछाडिबाट गाडी र चालकलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

कार्यालयमा प्रवेश निषेधका लागि संघर्ष समिति
बटेश्वर गाउँपालिकाको कार्यालयमा अध्यक्ष राउतलाई प्रवेश निषेध गर्न संघर्ष समिति गठन गरिएको छ । सर्वदलीय बैठकले शुक्रबार १ सय १ सदस्यीय संघर्ष समिति गठन गरेको हो ।

माओवादी केन्द्र, जसपा र काँग्रेसका एक पक्ष तथा गाउँपालिकाका युवाहरुले संघर्ष समिति गठन गरेको जसपा नेता राजकिशोर यादवले बताए । संघर्ष समितिले, अख्तियारले कारबाही नगरेपनि ‘भ्रष्टाचारी अध्यक्ष’लाई जनताले कारबाही गर्ने भन्दै कार्यालयमा निषेधसहितको ब्यानरहरु ठाउँ-ठाउँमा झुण्ड्याएका छन् । उनलाई गाउँपालिका प्रवेश गरि काम गर्न नदिइने यादवले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *