कुल देवताको विषयमा विवाद हुँदा भाइको हत्या, दाइ र भतिज पक्राउ

जनकपुरधाम । घरको कुल देवतासम्बन्धी विवाद हुँदा महोत्तरीमा दाइले आफ्नै भाइको हत्या गरेका छन् । जिल्लाको लोहारपट्टी गाउँपालिका–७, भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहसहित उनका परिवारजनले कुटपिट गर्दा उनकै कान्छो भाइ ४५ वर्षीय लक्ष्मण साहको मृत्यु भएको स्थानीयहरुले बताएका छन् ।

स्थानीयहरुकाअनुसार यसअघि जेठ २६ गते पनि दुवै दाइ—भाइबीच कुल देवताकै विषयमा विवाद हुँदा झगडा भएको थियो । भाइ लक्ष्मणको घरमा रहेको कुल देवता दाइ रामचन्द्रले आफ्नो घरमा लग्ने विषयमा दाजुभाइको परिवारबीच झगडा हुँदा रामचन्द्रको परिवारै मिलेर लक्ष्मणलाई कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते लक्ष्मणलाई जनकपुरका अस्पतालहरुले भर्ना लिन नमानेपछि हेलिकप्टरबाट तत्कालै काठमाडौँ लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख दिनेश आचार्यले बताए । कुटपिटबाट मृत्युु भएका लक्ष्मणको शवको काठमाडौँमै पोस्टमार्टम भएको र घटनाको विषयमा प्रहरीले अनुसन्धान थालेको प्रहरी उपरीक्षक आचार्यले बताए ।

दाइ र भतिज पक्राउ
घरको कुल देवताको विषयमा विवाद हुँदा लक्ष्मणको मृत्यु भएपछि हत्याको आरोपमा मृतकका दाइ र भतिजलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साह र उनका छोरा मुकेश साह रहेको महोत्तरीका प्रहरी प्रमुख दिनेश आचार्यले जानकारी दिए ।

लक्ष्मणको मृत्युपश्चात् रामचन्द्रसहित उनका परिवार फरार भएका थिए । खोजबिनको क्रममा बाबु छोरालाई पक्राउ गरिएको र अन्य फरारको खोजी कार्य तीव्ररुपमा भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *