यस्ता छन् प्रदेश १ को नीति तथा कार्यक्रमका नारा, कार्यान्वयनमा आशंका

विराटनगर । प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नारै नारामात्र भएको भन्दै विपक्षीले आलोचना गरेका छन् । प्रदेश सरकारले अधिकांश योजनैपिच्छे नयाँ नयाँ नारा दिएको छ । बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा विभिन्न नाराले प्राथमिकता पाएका थिए ।

विगत ३ वर्षदेखिको सरकारको नारा यो वर्षको नीति तथा कार्यक्रममा पनि थपिएर आएको हो । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा छलफलको क्रममा प्रदेशसभा सदस्य शेखरचन्द्र थापाले नारामात्र धेरै आएको तर कार्यान्वायनमा सिन्को नभाँचिएको टिप्पणी गरे ।

‘स्वच्छ र सुखी प्रदेश, प्रदेशको पानी जनताको लगानी, एक नम्बर प्रदेशको शान जनताको मुस्कान नाराले यो वर्ष पनि निरन्तरता पाएका छन् । उत्पादन किसानको जिम्मा बजारको मूल्य सरकारको जिम्मा, भविष्यको कर्णाधार बालबालिकासँग प्रदेश सरकार, समृद्ध प्रदेशका लागि आत्मनिर्भर छोरी, लोकप्रिय नाराहरू राखिएको छ‚ तर योजनाहरू छैन, कार्यक्रमहरू छैन,’ सांसद थापाले भने, ‘केही नाराहरू ल्याउने अनि डिलिट गर्दै जानुले सरकारको अवस्था के हो भन्ने देखाएको छ ।’

No description available.

त्यस्तै सरकारले अरु नाराहरू पनि यो वर्ष थपेको उनले उल्लेख गरे । राष्ट्रपति आमा सासु बुहारी कार्यक्रम, आमाको गर्भ सुरक्षित हुँदा एउटा युग सुरक्षित हुन्छ, मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम, मेरो कृषि-मेरो पौरख, बीजयुक्त बाली-विषादीमुक्त भान्सा र अनिकालमुक्त चुल्होको नारा पनि अघि सारिएको छ । ‘पर्यटन उद्यमीको हात–प्रदेश सरकारको साथ’ नारा पनि सरकारको नीति तथा कार्यक्रमभित्रको नारा हो ।

‘प्रदेश नम्बर एक-सबैभन्दा बेश’ भन्ने नारा भने यो वर्षदेखि डिलिट भएको थापाको टिप्पणी छ । यो नारा हटाइनुको कारण भने सरकारले नामै राख्न नसकेको कारण हटाएको हुनसक्ने बताए ।

अधिकांश सांसदले प्रदेश सरकारले प्रस्तुत गरेको तीनवटा नीति तथा कार्यक्रमको एउटै खालको भएको बताए । नीति तथा कार्यक्रममा सबै कुरा छुट्लान् कि झैँ गरेर प्रस्तुत गर्ने तर कार्यक्रम कार्यान्वयनमा ध्यान नदिनुले यो वर्षको नीति तथा कार्यक्रम पनि कार्यान्वायनमा जानेमा सांसदले आशंका व्यक्त गरेका छन् ।

थापाले भने, ‘शुरुको नीति तथा कार्यक्रम दुई तिहाईको दम्भका बिच राप र तापमा ल्याएको देखिन्छ, यो वर्षको नीति तथा कार्यक्रम भयग्रस्त मनस्थितिबाट आएको छ ।’

कांग्रेसका सचेतक सूयर्माराज राईले कोभिडको महामारीमा विद्यालय बन्द रहेको बेलामा म अघि बढ्छु भन्ने नाराको कार्यक्रमले बालबालिका होइन मन्त्री अघि बढ्ने बताए । म अघि बढ्छु भन्ने कार्यक्रमको नाराले बालबालिका लक्षित अभियान चलाउने भन्ने उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले नीति तथा कार्यक्रम २०७६ सालदेखिको हुबहु भएको बताएका छन् । ‘सरकारलाई केही लाज लाग्नुपर्ने हो,‘ उनले भने, ‘मसँग तीन वर्षको नै नीति तथा कार्यक्रम छ, कुनै फरक छैन‚ सबै हुबहु छ ।’

No description available.

नीति तथा कार्यक्रममाथिको छलफलमा उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेशलाई बद्नाम गर्ने खालको भएको बताए । उनले कार्यकर्ता पाल्ने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको बताए ।

उदयपुरकी सांसद सञ्जा कुमारी दनुवारले एक घर-एक धारा अभियान सरकारले नारामात्र दिएको आरोप लगाइन् । नारा ल्याउने तर कामै नगर्ने सरकारले नारासँगै काम गरेर देखाउन चुनौतीसमेत दिइन् । प्रदेश सभा सदस्य उमिता विश्वकर्माले २२६ बुँदामा आएको नीति तथा कार्यक्रम नाराले मात्र भरिएको टिप्पणी गरिन् ।

‘सरकारले ल्याएको नीति तथा कार्यक्रम नाराले मात्र भरिभराउ छ,’ उनले भनिन्, ‘जनतासँग जोडिने नीति तथा कार्यक्रम नारामा मात्र सीमित हुनु हुँदैन । कार्यान्वायनमा जाने स्पष्ट आधारहरू आउनुपर्छ, कार्यान्वयन गर्ने कुरा मुख्य हो ।’

माछाको पोखरीमा भ्यागुता पनि छैन
नीति तथा कार्यक्रमको छलफलको क्रममा ईलामका सांसद धिरेन्द्र शर्माले सरकारले लागू हुनै नसक्ने गरी नीति तथा कार्यक्रम ल्याएको बताए । ताप्लेजुङका सांसद प्रताप प्रकाश हाङ्गामले किताबमा सारा कुरा लेखिएको भएपनि सिमानामा तारबार लगाउने कुरा नलेखिएको भन्दै त्यो पनि नीति तथा कार्यक्रममा राख्न सुझाव दिए ।

उदयपुरका सांसद बिमल कार्कीले नीति तथा कार्यक्रम लेखेर मात्र नहुने भन्दै कार्यान्वयन पनि हुनुपर्ने बताए । २०७५/०७६ को कार्यक्रम कार्यान्वयन जसरी सहज कार्यान्वयन भयो‚ त्यसयताका योजनाहरु कार्यान्वयनमा जान नसकेको उनले बताए ।

खोटाङका सांसद रामकुमार राई, मोरङका सांसद शिवनारायण सिंह गन्गाईले कार्यान्वायन नै नहुने नीति तथा कार्यक्रम ल्याइएको भन्दै आलोचना गरे । उनीहरुले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेश १ ले अन्तरिक्षयानमा उडान गर्ने बाहेक सबै समेटेको भन्दै व्यंग्य गरे । छलफलमा यसअघिको बजेटमा माछाको नाममा दिइएको ५० लाखको अनुदानको पोखरीमा अहिले हेर्दा भ्यागुता पनि नभएको भन्दै त्यसलाई अनुगमन गर्नसमेत आग्रह गरे ।

नीति तथा कार्यक्रमको छलफलअघि शून्य समयमा बोल्दै प्रदेश सांसद कृष्णकुमारी राई, विद्यानन्द चौधरी, मोहन खड्का, मोहम्मद ताहिर मियाँ, रामचन्द्र लिम्बुले आफ्नो निर्वाचन क्षेत्रका समस्याको बारेमा जानकारी गराएका थिए । उनीहरुले कोभिड समस्या, खोप व्यवस्थापनमा प्रदेश सरकारले देखाएको निरीहताको बारेमा पनि प्रश्न उठाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *