पार्टीले घृणित चरित्र देखायो : कृष्ण थापा

काठमाडौं । दोस्रो पटक पार्टीको कारबाहीमा परेका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पार्टीले घृणित चरित्र देखाएको बताएका छन् । शुक्रवार पुनः पार्टी कारबाहीमा परेका थापाले मकालु खबरसँग भने— ‘पार्टीले पटक–पटक घृणित चरित्र दखाइरहेको छ ।’ सर्वोच्चमा ‘भ्याकेट’सम्बन्धी सुनुवाइ भइरहेको बताउँदै थापाले आफूले कानुनी तथा राजनीतिक परामर्श लिँदै गरेको र केही समयपछि आवश्यक कदम चाल्ने बताए । ‘खै किन हो पार्टीले आफ्नै सांसदलाई पटक–पटक कारबाही गरिरहेको छ । मैले पनि सल्लाह लिइरहेको छु । आवश्यक कदम लिन्छु ।’

यस्तै थापाले आफूलाई पार्टीले बैठक नै नबसी हटाएको आरोप लगाए । भने— ‘मलाई कारबाही गर्ने विषयमा कहिले बस्यो बैठक ? मलाई त थाहा छैन । पूर्ण बैठक बसेर पो यस्तो निर्णय गरिन्छ त, अनि जूममा बसेको बैठकले कारबाही गर्न मिल्छ ? त्यहाँ बहुमत छ ? कथित कारबाही हो पार्टीको । उचित उपचार खोज्छु । मलाई गैरअलोकतान्त्रिक तौरबाट हटाइयो ।’

केपी शर्मा ओलीले गरेको प्रतिगमनविरुद्ध केही नगर्ने अध्यक्ष चित्रबहादुर केसीले आफूलाई कारबाही गर्न रातारात योजना बनाएको आरोप थापाको छ । भन्छन्— ‘प्रतिगमनविरुद्ध केही गर्न नसक्ने चित्रबहादुर केसीले मलाई कारबाही गर्न भने रातारात बैठक डाक्ने, निर्णय गराउने भएछन् । वर्षौँसम्म एक पटक पनि केन्द्रीय समितिको बैठक नबोलाउने चित्रबहादुर केसीले अहिले मलाई कारबाही गर्न हप्तामै २/४ चोटी बैठक बोलाएको देख्छु । यो गैरअलोकतान्त्रिक हो ।’

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सदनमा विश्वासको मत मागेका थिए । त्यसमा थापा तटस्थ बसेका थिए । पार्टी (जनमोर्चा)ले भने तटस्थ नबसी विपक्षमा मतदान गर्नु भनि ह्वीप जारी गरेको थियो । तर, थापाले ह्वीप उल्लंघन गरेको भन्दै पुनः पार्टीले कारबाही गरेको हो ।

जनमोर्चाले थापालाई राजनीति दलसम्बन्धी ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रबार संसद् सचिवालयमा दर्ता गरेको हो । आजकै बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनको कारबाहीसम्बन्धी पत्र पढेर सुनाएका छन् ।

जनमोर्चाले ह्वीप उल्लंघन गरेको भन्दै गत २० जेठमा पनि थापालाई पदमुक्त गरेको थियो । तर, थापा सर्वोच्च अदालत गएपछि उनको पद थमौती भएको थियो । थापाको रिटमा सर्वोच्चले २३ जेठमा प्रारम्भिक सुनुवाइ गर्दै पुनःबहाली गर्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि उनी पुनः कारबाहीमा परेका हुन् । अध्यक्ष थापाले यसअघि नै थापालाई कारबाही गर्ने बताइसकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *