सभामुखले बोलाएको छलफलमा प्रधानमन्त्री नजाने

काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । सभामुख सापकोटाले शुक्रवार (आज) दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरेका थिए । तर, प्रधानमन्त्री ओली नजाने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । प्रधानमन्त्री जानुहुन्छ कि जानुहुन्न ? भन्ने प्रश्नमा थापाले भने— ‘उतै सोध्नुस् न । जानकारी नै नभएको ठाउँमा प्रधानमन्त्री जानुहुन्छ त ?’ प्रधानमन्त्रीनिकट एक नेताले प्रधानमन्त्री नजाने पुष्टि गरे । भने— ‘उहाँ जानुहुन्न । नजाने टुङ्गो भइसक्यो । उहाँ (सभामुख)ले अब सभामुखको हैसियतमा बैठक आह्वान गर्न सक्नुहुन्न ।’

सभामुख सापकोटाले गत बुधबार प्रधानमन्त्रीसँगै पूर्वप्रधानमन्त्री, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलगायतलाई समसामयिक विषय कुराकानी गर्नुपर्ने भन्दै छलफलमा बोलाएका थिए । जसमा प्रधानमन्त्री ओली भने नजाने भएका हुन् ।

प्रधानमन्त्री ओलीले गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि सभामुख सापकोटाले संविधानविद् तथा कानूनविद्हरुसँग परामर्श गरिरहेका छन् । योबीचमा प्रधानमन्त्री र सभामुखबीच सम्वादहीनता देखिएको छ । यही बेला सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका थिए ।

सर्वोच्च अदालतमा प्रतिनिधि सभा भंग गर्ने निर्णयविरुद्ध परेका ३१ वटा रिटउपर ‘फास्ट् ट्र्याक्’मार्फत सुनुवाइ हुँदैछ । नूनविद्हरुकाअनुसार फैसला चाँडै आउँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *