आमा बन्दै गरेकी अभिनेत्री ऋचालाई सबैको साथ

काठमाडौं । अभिनेत्री ऋचा शर्माको चाहना थियो, विवाहपछि परिवारको साथ बस्न पाइयोस् । अर्थात् उनलाई संयुक्त परिवारमै रहने रहर थियो । सानैबाट ठुलो परिवारमा हुर्किएकी उनको यो रहर स्वाभाविक पनि थियो । दिपेक्षविक्रम राणासँग विवाह गरेकी उनको यो रहर पुरा भयो । उनी अहिले श्रीमान र सासु ससुरासँग बस्ने गर्छिन् । उनको परिवारमा उनकी आमाजू र  भान्जासमेत आइरहन्छन् । समग्रमा उनी संयुक्त परिवारकी खुसी बुहारी हुन् ।

ऋचा र दिपेक्षले प्रेम विवाह गरेका हुन् । परिवारले एक अर्काको रोजाइको सम्मान गरे । २०७६सालको मङ्सिर २१ गते विवाह गरेका यी दुई आउँदो भदौमा अभिभावक बन्दैछन् ।

पेटमा रहेको सन्तानलाई लिएर ऋचा र उनका श्रीमान् उत्साहित छन् । गर्भवती ऋचा र पेटमा रहेको सन्तानको हेरचाहमा उनकी सासू पूर्ण रूपमा लागेका छन् । ऋचाकी सासू शिक्षिका भएकाले पनि सासूको बालबालिकासँगको यो निकटता अहिले ऋचालाई फलदायी सावित भएको छ ।

यही समयमा कोरोनाका कारण निषेधाज्ञा चलिरहेको छ । श्रीमानको अफिस जानु नपर्ने, सासू आमा स्कुल जानु नपर्ने भएकाले पनि ऋचाले परिवारको अधिकांश समय पाएकी छन् । पहिलो पटक गर्भवती बनेकी ऋचामा उत्सुकतासँगै डर पनि छ । तर परिवारको साथका कारण उनी दङ्ग छिन् ।

No description available.

ठुलो क्षेत्रफलमा फैलिएको उनको घर वरपर हरियाली छ । कुकुरदेखि कुखुरासम्म पालिएको छ । किम्बुदेखि लहरे आँप पनि घरमै फल्छन् । उनको घर फार्म हाउसभन्दा कम छैन । यो हरियालीले उनलाई अझ फाइदा मिलेको छ ।

ऋचाको स्याहारमा उनका श्रीमानको हात त छ नै । अझ उनको सासूको व्यवहार राम्रो देखिन्छ । हर बखत उनी ऋचाको स्वास्थ्य, खानपन र सन्तानसँगको निकटता बढाउन लागि परेकी छन् । यसको उदाहरण ऋचाको युट्युब च्यानलमा राखिएका भिडिओमा पनि देख्न सकिन्छ ।

सामान्यतया पूर्वीय संस्कारमा सासूले गर्भवती बुहारीको विशेष ख्याल गरेको पाइन्छ । सन्तानसँगको सम्बन्ध बलियो बनाउन आमा ऋचाको पेटमा भएको बच्चालाई कथा सुनाउने गर्छिन् । कहिले तेल लगाएर त कहिले बिनातेल नै पेटमा स्पर्श गरेर आफ्नो भावी सन्ततिलाई कथा सुनाएर, लोरी सुनाएर आनन्द दिने गर्छिन् । यतिमात्र होइन‚ उनी भगवद्गीतालगायत धार्मिक ग्रन्थका श्लोक र कथासमेत सुनाउने गर्छिन् ।

त्यस्तै खाना बनाउन मन पराउने उनले बुहारीलाई दैनिक भिन्न भिन्न परिकार बनाएर खुवाउने गर्छिन् । ऋचासमेत पछिल्लो समय भान्साको काममा रमाउन थालेकी छन् । उनी सासुआमासँग नेपाली परिकार बनाउन सिक्दैछिन् । पान रोटी, चरा (कुखुरा)साँधेकोलगायत परिकार बनाएको भिडिओ त ऋचाको युट्युबमा समेत देख्न सकिन्छ ।

गर्भवती भएको थाहा पाउनासाथ ऋचा दम्पतीले सजिवनको रुख रोपेको बताएका छन् । शरीरभित्र जीवन हुर्काउँदै गर्दा ऋचालाई अर्को जीवन (रुख) पनि सँगसँगै हुर्काउन मन लाग्यो । यसले उनीहरूलाई जीवनभर सम्झनलायक पलका  रूपमा रुखले सम्झाउनेछ भने पर्यावरणमा समेत योगदान दिनेछ । उनको आफ्नो गर्भवती भएको खबर सार्वजनिक गर्ने तरिकालाई पनि धेरैले मन पराएका छन् । अहिले धेरैले यहि तरिकालाई पछ्याउन पनि थालेका छन् ।

No description available.

सानो उमेरमै बुबा गुमाएकी ऋचाले विवाहलगत्तै आमा गुमाइन् । उनलाई यो दुःखबाट बाहिर आउन धेरै समय लाग्यो । तर पेटमा बच्चा आएपछि भने उनी धेरै सकारात्मक भएकी छन् । उनलाई लाग्छ- यदि उनको छोरी जन्मिइन् भने आमाको पुनर्जन्म भएको हुनेछ । तर उनकी हजुरआमा भन्छिन्‚ ‘सन्तान जे जन्मिए पनि आमाको अंश नै आउनेछ ।’ उनको आमासँगको कनेक्सन अझै नटुटेको उनलाई लाग्छ । सपनामामात्रै नभएर हरेक पल आमाले उनलाई हेरिरहेको र खुसी रहेको उनी मान्छिन् ।

गर्भावस्थामा उनले सामान्य शारीरिक व्यायाम पनि गरिरहेकी छन् । आफूले स्वस्थ खाना खाने, मानिसक रूपमा समेत स्थिर रहने उनको प्रयास जारी छ । उनी आफ्नो यो अवस्थामा दङ्ग छिन् । सन्तान पेटमा आएपछि पेटमा बस्ने दाग (स्ट्रेच मार्क) लाई लिएर पनि उनलाई खासै चिन्ता छैन । कलाकार भएकाले ‘शारीरिक सुन्दरता’लाई ध्यान दिनुपर्छ भन्ने भएपनि यो ‘स्टेरियोटाइप’लाई आमा बन्दै गरेको खुसीले पछि छोडेको छ ।

प्रतिक्रिया

One thought on “ आमा बन्दै गरेकी अभिनेत्री ऋचालाई सबैको साथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *