प्रदेश १ को नीति तथा कार्यक्रम : विषरहित चुलोदेखि खुवालुङको संरक्षणसम्म

विराटनगर । प्रदेश १ को नीति तथा कार्यक्रमले विषरहित चुलोदेखि खुवालुङको संरक्षणसम्मको विषयलाई समेटेको छ । बिहीबार प्रदेश १ को प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारले आगामी आर्थिक वर्षमा गरिने नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेका हुन् ।

प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा तीव्र गतिमा काम गर्ने आधार अझै नबनेको उल्लेख गर्दै तीव्र गतिमा काम गर्ने आधार नबन्नुको मुख्य कारणमा प्रदेश निजामती सेवा ऐन, प्रदेश प्रहरी ऐन तथा प्रहरीको समायोजन र प्रदेशको छुट्टै आधार तयार नभएको बताइएको छ ।

त्यति हुँदाहुँदै पनि सम्भावनायुक्त प्रदेशको रुपमा चिनाउने काम भएको बताइएको छ । प्रदेश सरकारले योबिचमा जनसुरक्षा कोष परिचालन गरी कोभिड नियन्त्रण, रोकथाम र उपचारमा काम भएको, सरकारको ध्यान कोभिड नियन्त्रणमा केन्द्रित भएको उल्लेख गरिएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले कोभिड नियन्त्रण, सरसफाई, सचेतना, जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य र पोषणसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राख्ने उल्लेख गरिएको छ । डिजिटल स्वास्थ्य, डिजिटल प्रदेश बनाइने, सबै स्वास्थ्य संस्था तथा स्वास्थ्य केन्द्रमा अनलाइनमार्फत दर्ता गरिने पनि भनिएको छ ।

नीति तथा कार्यक्रममा विद्यालय तथा समुदायमा स्वास्थ्य चेतना कार्यक्रम संचालन गरिने, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई अतिरिक्त पारिश्रमिक दिने उल्लेख गरिएको छ ।

गुणस्तरीय स्वास्थ्य प्रदेश सरकारको प्रतिबद्धतासहितको नारा अघि सारेको प्रदेश सरकारले गुरुयोजना अन्तर्गत अक्सिजन प्लान्ट, सघन उपचार कक्ष निर्माण, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी र आवश्यक औजार तथा यन्त्र उपकरणसहित मेची अस्पताललाई २ सय, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय-सय तथा अन्य जिल्ला अस्पताललाई न्युनतम ५० शय्यामा स्तरोन्नति गरिने सरकारको तयारी छ ।

यस्तै प्रदेशद्वारा सञ्चालित कोशी अस्पतालअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रलाई कोभिडको पूर्ण रोकथाम र नियन्त्रणपश्चात प्रादेशिक प्रसुति तथा स्त्री रोग अस्पतालका रुपमा रुपान्तरण गरिने प्रदेश सरकारको योजना छ । सबै माध्यमिक विद्यालयमा तालिम प्राप्त शिक्षक शिक्षिकाद्वारा किशोर किशोरीलाई नियमित मनोसामाजिक विमर्श तथा यौन शिक्षा प्रदान गर्न स्थानीय तहहरुसँग समन्वय गर्ने सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

योगमाया आयुर्वेदिक अस्पतालसँग जडिबुटी उत्पादन र प्रशोधनका लागि सहकार्य गरिने, विद्यालय शिक्षाको स्तरोन्नति, प्राविधिक शिक्षालाई प्रोत्साहित गर्ने भनिएको छ । प्रारम्भिक कक्षादेखि नै त्रिभाषीय शिक्षा प्रदान गरिने, विद्यालयमा सूचना प्रविधि कार्यक्रमलाई प्राथमिकता दिइने, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागू गरिने वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

विद्यालय र समाजमा सचेतनामुलक कार्यक्रम संचालन गरिने, बालबालिकाका लागि अल्पकालीन कार्यक्रम संचालन, भाषाको अभिलेख व्यवस्थापन र प्रचार गरिने, प्रदेश प्रमुख दन्त मुस्कान कार्यक्रमलाई निरन्तरता दिइएको छ । आमालाई सम्मान गर्ने कार्यक्रमहरुलाई राष्ट्रपति आमा सम्मान र बुहारी सम्मान कार्यक्रम लागू गरिने भएको छ ।

प्रदेश खेलकुद विकास बोर्ड गठन गठन गरिने भनिएको छ भने एक पालिका एक खेल मैदानलाई यो वर्ष पनि निरन्तरता दिइएको छ ।

दलित अधिकारसम्बन्धि ऐन जारी गरी, एक अधिकारसम्पन्न निकाय स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । तर यसअघिको नीति तथा कार्यक्रममा उल्लेख भएपनि कार्यान्वयनमा आएको थिएन ।

रोजगारी गुमाए, अति विपन्न, पेशा व्यवसाय बन्द गर्नुपर्ने बाध्यतामा रहेकाहरू लागि परियोजना बनाई लागू गरिने, वैदेशिक रोजगारीबाट फर्किएकाहरुका लागि मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रमलाई कार्यान्वयन गर्न एक चक्रीय कोष स्थापना गरिने भनिएको छ ।

विषरहित चुलो अभियान
प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विषरहित चुलोको परिकल्पना गरेको छ । ‘मेरो कृषि‚ मेरो पौरख ’ प्रदेश प्रमुख नवप्रवर्द्धन कृषि कार्यक्रम संचालनमा ल्याउने, अर्ग्यानिक कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रमबाट अघि सारिएको छ ।

बिजयुक्त बाली, विषमुक्त भान्सा र अनिकालमुक्त चुलो कार्यक्रम संचालन गरिने भनिएको छ । भान्साबाट विष हटाउने अभियानमा आमा समूहलाई परिचालन गरिने भएको छ । सबै बाँझा जमिन कृषि उत्पादनमा लगाइने, बाँझो जमिन प्रयोगमा ल्याउनेलाई प्रोत्साहन दिइने, प्राङ्गारिक तथा जैविक मल उत्पादनलाई पनि नीति तथा कार्यक्रमले समेटेको छ । कृषि अनुदानलाई निरन्तरता दिइने र चिया बजारलाई व्यवस्थित गरिने उल्लेख गरिएको छ ।

नयाँ उद्योग संचालन गर्न चाहने उद्यमीलाई तालिम तथा सीपका लागि प्रबन्ध मिलाइने तथा ३ खानीको अन्वेषण तथा उत्खनन् गर्न सार्वजनिक तथा नीजि वर्गको साझेदारीमा पहल गरिने भनिएको छ ।

खुवालुङको संरक्षण गरी धार्मिक स्थल बनाइने
प्रदेशका १६ पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्ने, पर्यटन गुरुयोजना निर्माण गरी १४ जिल्लालाई पर्यटन प्रवर्द्धन गरिने, थप पर्यटकीय गन्तव्यको पहिचानका लागि स्थानीय तहसँग समन्वय गरिने बताइएको छ । अन्तर-प्रदेश सहकार्यमा धार्मिक सर्किट, इको ट्रेल, जलयात्रा क्षेत्रको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेश सरकार र विराटनगर महानगरपालिकाको साझा योजनाको रुपमा अघि सारिएको विराटनगर विमानस्थललाई अन्तरराष्ट्रिय बनाउन जग्गा अधिग्रहणको काम सम्पन्न गरी निर्माणको काम अघि बढाउने र विमानस्थलमा सित भण्डारको व्यवस्थापन गरी कृषि उत्पादनलाई बाहिर निकासी गरिने उल्लेख गरिएको छ । खुवालुङको संरक्षण गर्दै, पर्यटकीय तथा धार्मिक क्षेत्रको रुपमा विकास गरिनुका साथै कर्मचारीलाई १० दिनका लागि पर्यटन काज दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशलाई काठ दाउरामा आत्मनिर्भर बनाइने र २०७८ लाई वृक्षारोपण वर्षको रुपमा घोषणा गरी हरेक पालिकामा वृक्षारोपण गर्ने, चतरा नहरको दुवैतर्फ वृक्षरोपण गरी हरियाली बनाउने उल्लेख गरिएको छ ।

जलविद्युत उत्पादनमा जोड दिएने, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र र स्थानीयले अपनत्व गर्ने गरी सेयर लगानीमा प्रदेशको पानी जनताको लगानी कार्यक्रम संचालन गरिने भएको छ । एलपिजी ग्यासलाई विस्थापन गरी विद्युतीय चुलो कार्यक्रमलाई प्राथमिकता दिइने भएको छ ।

जनता आवास कार्यक्रमलाई निरन्तरता, जोखिममा परेका बस्तीलाई स्थानान्तरण गरिने, खरको छानो विस्थापन कार्यक्रम ल्याइएको छ ।

किशोर किशोरी लक्षित सगरमाथा टिन्स क्लबलाई यो वर्ष पनि निरन्तरता दिइएको छ । पत्रकार सुरक्षा कोषलाई पनि समेटिएको छ । वित्तीय अनुशासनलाई कडाइका साथ परिपालना गरिने भएको छ । राजस्व चुहावट नियन्त्रण गर्न नीति तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेश लगानी सम्मेलन गर्ने भनिएको छ । प्रदेश सूचना प्रणाली तथा अभिलेख प्रणालीलाई व्यवस्थित गरिने भएको छ । प्रदेश मानव संशाधन ऐन निर्माण गरी कार्यान्वयन गरिने, सार्वजनिक सेवालाई पारदर्शी बनाउनका लागि मापदण्ड बनाइने, न्यायिक समिति दिग्दर्शन बनाई कार्यान्वयन गर्न स्थानीय तहसँग समन्वय गरिने, डिजिटल प्रदेशको कार्ययोजना बनाई कार्यान्वयन गरिने वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *