प्रदेश २

कांग्रेसका तीन मन्त्रीद्वारा शपथ, भागबण्डा नमिल्दा माओवादी सरकारमा गएन

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले नेपाली काँग्रेस तीन मन्त्रीलाई सरकारमा सहभागी गराउँदै प्रदेश २ काे मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

कांग्रेसबाट सरकारमा सहभागी संसदीय दलका नेता रामसरोज यादवलाई भौतिक पूर्वाधार मन्त्री, ओमप्रकाश शर्मालाई खानेपानी तथा सिंचाई मन्त्री र वीरेन्द्र सिंहलाई सञ्चार मन्त्रीमा नियुक्त गरेका छन् । प्रदेश प्रमुख राजेश झाले तीनैजना मन्त्रीलाई बुधबार राति पौने दश बजे पद तथा गोपनियताको शपथ गराएका छन् । यससँगै प्रदेश २ सरकारमा ८ मन्त्री र तीन राज्यमन्त्री भएका छन् ।

माओबादी अन्तिममा आउट

दिउँसाेसम्म माओबादी केन्द्र पनि सरकारमा सहभागी हुने तय भएकाे थियाे तर मन्त्रालय भागबण्डामा कुरा नमिल्दा अन्तिम समयमा माओवादी, सरकारमा सहभागी भएन ।

माओवादी केन्द्रले दुईवटा मन्त्रालय मागेको तर मुख्यमन्त्री लालबाबु राउतले एउटा मात्र दिन सकिने अडान लिएपछि आफुहरु सरकारमा सहभागि नहुने निर्णयमा पुगेको माओवादी सांसद जगत यादवले मकालुखबरलाई जानकारी दिए ।

उनकाअनुसार सुरुमा दुईवटा मन्त्रालयमा दिने मौखिक सहमति भएपनि अन्तिम समयमा आएर मुख्यमन्त्रीले आफुहरुलाई अपमानजनक तरिकाले एउटा मात्रै दिन सकिने अडान लिएपछि वार्ता निष्कर्षविहीन पुगेको हो । ‘दुईवटा मन्त्रालय दिने सहमति हुँदा हामीले लिखित सहमति गर्न भन्यौँ, तर उहाँहरुले लिखित सहमति गर्न नमानेपछि हामीलाई त्यतिखेरै शंका लागेको थियोे, उनले भने, ‘त्यसको केहीबेरमा उहाँहरुले फेरी अर्को बखेडा झिकेर एउटा मात्रै मन्त्रालय दिने भनेर हाम्रो अपमान गर्नुभयो ।’

सांसद यादवका अनुसार खाली रहेको वाणिज्य तथा वातावरण मन्त्रालय सरकारले दिने भनेको थियो  । माओवादीले सरकारसँग बाँकी रहेको कानुन तथा प्रदेशसभा मामिला मन्त्रालय पनि मागेको थियो । जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि मुख्यमन्त्री राउतले काँग्रेसलाई जति महत्व माओवादी केन्द्रलाई नदिएको गुनासाे माओबादीकाे छ ।

स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवकै उपस्थितिमा मुख्यमन्त्री राउतले कांग्रेससँग लगातार पाँच दिनसम्म वार्ता गरेर सबै कुराको टुगों लगाएका थिए । माओवादीसँग पनि छलफल गरेपनि लिखित  सम्झाैता गर्न नमानेकाे तर कांग्रेससँग दुई बुँदे सम्झौता नै गरेर उसलाई महत्वपूर्ण मन्त्रालयहरु दिएको छ माओबादीका नेताहरुको गुनासाे छ । माओवादी केन्द्रका सांसद जगत यादवका अनुसार अन्तिम समयमा आएर मुख्यमन्त्री राउतले माओवादीलाई सरकारमा सहभागी भएपछि मात्र मन्त्रालय मिलाउने भन्दै पन्छिन खोजे । तर माओवादी केन्द्रले मन्त्रालयको टुगों नलागेसम्म सरकारमा सहभागी नहुने अडानमा अन्तिमसम्म कायम रहे ।

माओवादीलाई बाईपास गर्नुको भित्री कारण भने मूख्यमन्त्रीलाई मा‌ओबादी बिना नै बहमुत पुग्नु पनि हाे । बहुमतका लागि मुख्यमन्त्री राउतलाई जम्मा ५३ सांसद चाहिएकोमा जसपाका ३५ सांसद रहेकाले थप  १८ जना मात्रै सांसद चाहिएको छ ।  कांग्रेससँगै जम्मा १९ जना सांसद भएकाले मूख्यमनत्री राउतलाई बहुमत पुग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *