शून्य समयमा सांसदद्वारा प्रदेश सरकारको आलोचना

विराटनगर । प्रदेश सभाको बर्खे तथा बजेट अधिवेशनको दोस्रो बैठकको शून्य समयमा बोल्ने सांसदले कोरोना र बजेटको विषयलाई उठान गरेका छन् । प्रदेश सभामा शून्य समयमा बोल्दै झापाका प्रदेश सभा सदस्य झालकसिंह दर्लामीले दमकमा सुकुम्वासीमाथि भएको आक्रमण गलत भएको बताए । उनले घटनाको बारेमा छानबिन गरी कारबाहीको माग गरेका छन् । उनीहरुको बसोबारको निम्ति धनिपुर्जाको माग गरेको अवस्थामा प्रदेश सरकारकाले समन्वय गरी धनीपूर्जाको व्यवस्थापन गर्न उनले माग गरे ।

उदयपुरका सांसद नारायणबहादुर मगरले सरकारको कारण अधिकांश खानेपानी योजनाहरु अलपत्र अवस्थामा पुगेको बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयले ३० करोड रकम छुट्याएकोमा न्यायोचित वितरण नहुँदा योजनाहरु अलपत्र पर्ने अवस्था आएको सुनाए । मन्त्रालयले न्यायोचित रुपमा रकम वितरण गर्न नसकेको बताउँदै न्यायोचित वितरण गर्न माग गरे ।

उनले ओखलढुंगामा ९ करोड, झापामा ८ करोड, भोजपुरमा ७ करोड, सुनसरी र धनकुटा जिल्लामा २/२ करोड दिइएको थियो तथा खोटाङ र पाँचथरमा ५०/५० लाख छुट्याइएको बताए । ‘यस्तो बजेट विनियोजन न्यायोचित र समानुपातिक भएन,’ उनले भने, ‘यस्तो अवस्थामा अधिकांश खानेपानी आयोजनाका कामहरु ऋणपत्र परेका छन् ।’ आगामी दिनमा यस्तो अवस्था आउन नदिन आग्रह गरे । उनले जनता आवास कार्यक्रमका भवन पनि अधुरै रहेको सदनलाई जानकारी गराए ।

‘मोरङ, सुनसरी र उदयपुरकामा ३ करोड बजेट छुट्याइएको थियो,’ उनले भने, ‘त्यो बजेटपछि फिर्ता गरेर अन्यत्र कार्यक्रम मन्त्रालयले लगेको छ ।’ बन्दै गरेको जनता आवास कार्याक्रम समयमा नै सम्पन्न गर्न उनले आग्रह गरे ।

ताप्लेजुका सांसद प्रताप प्रकाश हाङ्गामले तप्लेजुङमा तत्काल अक्सिजन प्लान्ट निर्माणको लागि १ करोड छुट्याउन माग गरे । ‘संसद विकास कोषको १ करोड किन नदिएको, हामीले पाउनुपर्छ,’ उनले भने, ‘त्यो पाइएन भने संसदमा ऐतिहासिक घटना हुनेछ र त्यो माननीयप्रतिको मानहानी हुन्छ ।’

अर्का ताप्लेजुङकै सांसद बलबहादुर साम्सोहाङले ताप्लेजुङको सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल भनेर नामाकरण गरिएको विरोधमा स्थानीय आन्दोलनमा रहेकाले त्यो निर्णय तत्काल परिवर्तन गर्न आग्रह गरे । पाथिभराबाट फर्किने क्रममा विमानस्थल दुर्घटना भएको विषयलाई लिएर विमानस्थलको नामाकरण नै परिवर्तन गर्नुपर्ने आधार र प्रमाण नभएको स्पष्ट पारे । प्यारो नाम सुकेटारको नाममा मात्र अन्याय नभएको तर रविन्द्र अधिकारीमाथि पनि अन्याय गरेको उनले आरोप लगाए ।

धनकुटाकी प्रदेश सभा सदस्य लिला सुब्बाले बजेटमा विभेद हुनु नहुने बताइन् । उदयपुरकी सांसद सञ्जाकुमारी दनुवारलेगत वर्ष झुक्याएको सरकारले यो वर्ष चित्त बुझाउने गरी बजेट ल्याउनेमा आशा व्यक्त गरिन् । पाँचथरकी सांसद सीता थेबेले विमानस्थलको नामको बारेमा असन्तुष्टि जनाइन् ।

कांग्रेसका सचेतक सूयर्माराज राईले चुरे उत्खनन्‌को बारेमा आपत्ति जनाए । अहिले नै पानीको अभाव शुरु भइसकेको अवस्थामा सरकारले चुरे उत्खनन् गर्न खोज्नु गलत भएको बताए । उनले पर्यावरण जोगाउन आग्रह गरे । सुनसरीका सांसद ज्योति सुब्बाले कोभिडबाट संक्रमितको उपचारमा प्रदेश सरकारको ध्यान जानुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *