जोर्डनसँग नेपाल

आशालाग्दो प्रदर्शन, फिनिसिङमा सुधार जरुरी

काठमाडौं । जोर्डनसँग फेरि एकपटक ३-० ले पराजित भएपछि नेपाल विश्वकप फुटबलको छनोटबाट बाहिरिएको छ । हारपछि भने नेपालको एसिया कप छनोटमा सिधै तेस्रो चरणमा पुग्ने सम्भाभावना पनि कमजोर भएको छ ।

विश्वकप २०२२ र एसियन कप २०२३ छनोट अन्तर्गत नेपाले सोमबार कुवेतको जाबेर अल-अहमद अन्तर्राष्ट्रिय मैदानमा जोर्डनसँग ३-० ले पराजित भयो । छनोट अन्तर्गतकै खेलमा १९ महिना अघि जोर्डनको घरेलु भुमि अम्मानमा पनि ३-० कै हार भोगेको थियो ।

नतिजा र फिफा बरियता दुबैमा नेपालभन्दा धेरै माथिल्लो स्तरको टिम हो जोर्डन । त्यसैले मैदान उत्रँदा नेपाल जोर्डनलाई हराउनेभन्दा पनि बराबरीमा रोक्ने लक्ष्य राखेको थियो । तर यो पूरा नभएपनि नेपालको समग्र खेल हेर्दा निराशाभन्दा आशा नै बढी पाइन्छ ।

३० महिनापछि लगातार चार खेलमा गोल गर्ने अवसर गुमाएपनि नेपाली टीमले आफ्नो लय भने नगुमाएको मान्छन् पूर्व स्ट्राइकर तथा प्रशिक्षक हरी खड्का । ‘९० मिनेटसम्म नेपाली टीमले एउटै पेसमा खेल्न सक्नु पोजेटिभ मान्नु पर्छ। हामीभन्दा स्वभाविक रुपमा धेरै माथि रहेको टीम विरुद्ध संयमित प्रदर्शन गर्नु सकरात्मक हो। नेपालका लागि पहिलो हाफमा पाएको पेनाल्टी अस्वभाविक थियो । जुन पेनाल्टी नै नेपालका लागि टर्निङ प्वाइन्ट बन्यो‚’ उनले भने ।

नेपाली टीममा अझै पनि स्ट्राइक लाइनमा सुधार जरुरी रहेको खड्काको ठम्याइ छ । उनी भन्छन्‚ ‘भरसक बल पोसेसन राखेर गल्ति कम गर्नु पर्छ । थोरै अवसर पाउने भएकाले फिनिसिङमा सुझबुझपूर्ण तरिकाले गर्नुपर्छ ।’ नेपालले यो पटक बलियो टीमविरुद्ध रक्षात्मकभन्दा पनि खुल्ला भएर खेल्न सक्नु सफलता भएको खड्काको बुझाइ छ । विगतमा जस्तो ठूला टिमविरुद्ध रक्षात्मक अवस्थाबाट टीमलाई माथि उठाउनु प्रशिक्षक अलमुताइरीको राम्रो पक्ष हो ।

जोर्डनले बाह फैजल सैफको पेनाल्टी गोलमामार्फत २४ औं मिनेटमा अग्रता लिएको थियो । रोहित चन्दले पेनाल्टी क्षेत्रमा सुलेमनलमाथि फल गरेको भन्दै रेफ्रिले जोर्डनलाई पेनाल्टी दिएका थिए । जसमा फैजलले कुनै गल्ती गरेनन् र जोर्डनलाई अग्रता दिलाए ।

पूर्वस्ट्राइकर खड्का त्यसलाई अनावश्यक पेनाल्टी मान्छन् । उनी भन्छन्‚ ‘मलाई लाग्छ त्यो पेनाल्टी पाउने खालको ट्याकल थिएन ।’ त्यसो त फेजलले नै १९ महिना अगाडि पनि नेपालविरुद्ध पेनाल्टीमार्फत् नै गोल गर्दै अग्रता दिलाएका थिए । उनले दोस्रो गोल आकर्षक फ्रि कीकमार्फत् गरेका थिए । त्यो गोल भने साँच्चै सुन्दर थियो । उनको दुई गोल फेरि पनि जोर्डनका लागि महत्वपूर्ण रह्यो ।

नेपालका प्रशिक्षक अब्दुल्लाहले ताइपेईविरुद्ध खेलेको पहिलो रोजाइमा तीन खेलाडी परिवर्तन गर्दै जोर्डनविरुद्धको टिमलाई उतारेका थिए । उनले फरवार्ड आशिष लामाको स्थानमा अभिषेक रिजाललाई अवसर दिए । मिडफिल्डर सुनिल बल र राइटब्याक गौतम श्रेष्ठलाई बाहिर राख्दै डिफेन्डरद्वय दिनेश राजवंशी र विकास खवासलाई पहिलो रोजाइमा पारे । तर, विकास लामो समय मैदानमा रहेन सकेनन् । केही समयदेखि घाइते रहेका उनी राष्ट्रिय टिमको प्रशिक्षणका बेला क्याम्पमा फर्किएका थिए । सोमबारको खेलमा जोर्डनका खेलाडीसँग जुधेर लड्न पुगेपछि उनी घाइते भएर मैदान बाहिर निस्किनुपर्‍यो ।

दोस्रो हाफमा नवयुग श्रेष्ठ, विशाल राई र मनिष डाँगीलाई मोका दिइएको खेलमा मनिसले केही राम्रा मुभ बनाउने कोशिष गरेपनि सफल भने भएनन् । त्यसो त अञ्जन विष्टका केही प्रयासले पनि सार्थकता भने पाउन सकेनन् । तुलनात्मक रुपमा नेपालले कमै मात्र मुभ बनाउन सकेको थियो ।

बरु जोर्डनले भने नेपालको रक्षापंक्ति र गोलकिपर किरण चेम्जोङलाई ब्यस्त बनाइराखे । किरणले आधा दर्जन प्रहार निस्तेज बनाएका थिए । उनले तीनवटा प्रहारलाई भने रोक्न सकेनन् । नेपालले प्रयास गरेका केही प्रहारहरु फितला रहेका कारण जोर्डनका गोल रक्षकलाई भने धपेडी भएन ।

नेपाली युवा टीमले धैर्यतापुर्वक खेल्दै खेलको अन्तिमसम्मै जोर्डनका प्रहारहरु असफल बनाउन तल्लिन रह्यो भने बेलाबेला अवसर सिर्जना गर्दै गोल गर्ने कोशिस गरेको थियो ।

विश्वकप सम्भावना सकियो, एशियन कपमा गणितीय सम्भावना
छनोटमा पाँचौं हारसँगै नेपालको विश्वकप २०२२ छनोटको तेस्रो चरणमा प्रवेशको सम्भावना सकिएको छ । तर एसियाकप छनोट पनि भएकाले यसको तेस्रो चरणमा पुग्न पनि समूहमा चौथो हुनेमध्ये उत्कृष्ट चारमा रहनुपर्ने बाध्यता छ ।

जुन सम्भावना पनि अब गणितीयमात्र छ । नेपालले अब चौथो हुनेमध्ये उत्कृष्ट चारमा पर्न नसके पुछारका ११ टिममा रहेर एसियन कप छनोटको तेस्रो चरणमा पुग्न प्लेअफ खेल्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *