प्रदेश २

केन्द्रीय गठबन्धनअनुसारको सरकार बन्दै, कांग्रेस-माओवादी चाँडै सरकारमा जाने

काठमाडौं । प्रदेश नं. २ मा केन्द्रमा बनेको गठबन्धनअनुसारको सरकार बन्ने भएको छ । तत्कालीन समाजवादी पार्टीको नेतृत्वमा रहेको सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी सामेल हुने भएका छन् । केन्द्रीय गठबन्धनअनुसार आफूहरु सरकारमा चाँडै सामेल हुने कांगेस संसदीय दलका नेता राम सरोज यादवले मकालु खबरलाई जानकारी दिए । ‘केन्द्रको प्रभाव त पर्ने नै भयो । अब यहाँ पनि त्यहीअनुरुपको सरकार बन्ने भएको छ । माओवादी केन्द्र र हामी सरकारमा चाँडै जाँदैछौँ,’ नेता यादवले भनेका छन् ।

केन्द्रीय गठबन्धनको नीतिअनुरुप नै मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुरपक्षीय जनता समाजवादी पार्टी (जसपा)का ४ मन्त्रीलाई आइतबार बर्खास्त गरेका छन् । महन्थ पक्षका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अविराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई आइतबार बर्खास्त गरिएको हो । केन्द्रको गठबन्धनअनुसार सत्ता समीकरण हुने भएपछि राउतले महन्थपक्षका मन्त्री हटाएका हुन् ।

नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन चाहेको थियो । त्यसको प्रयासस्वरुप कांग्रेस नेता विमलेन्द्र निधिले अध्यक्ष उपेन्द्र यादवलाई केही दिनअगाडि भेटेका थिए । तर, अध्यक्ष यादवले ठोस जवाफ दिएका थिएनन् । तपाईंहरुले त आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्छ भनेर भन्नुभएको थियो नि ? भन्ने प्रश्नमा नेता यादवले भने— ‘हाम्रो चाहना त त्यो नै हो । यसको निर्क्यौल सरकारमा गएपछि नै हुन्छ । अहिले चाहिँ सरकारमा सामेल हुन्छौँ ।’

निधिसँगको छलफलपछि जनकपुर पुगेका अध्यक्ष यादवले मुख्यमन्त्री राउतलाई नै जसपा संसदीय दलको नेता बनाएका छन् । जनकपुरमा रहँदा अध्यक्ष यादवले आफ्नो समूह थप शक्तिशाली बनाएका छन । प्रदेश सभामा ३० सांसद रहेको यादव पक्षले महन्थ ठाकुर समूहका ६ सांसद आफ्नो पक्षमा ल्याउन सफल भएको छ । संसद्मा हाल उपेन्द्रपक्षीय जसपाका ३६ सांसद पुगेका छन् । २५ सांसद रहेको महन्थपक्ष थप कमजोर बनेको छ । उक्त पक्षका छ सांसद घटेर १९ जनामा पुगेका छन् । ३६ जना सांसदको समर्थनसहित संसदीय दलको नेतामा राउत चुनिएका हुन् ।

जसपा (यादवपक्ष) ३६, कांग्रेसका १९ र माओवादीका ८ सांसदसहित राउत थप बलियो बनेका छन् । ‘सरकारमा गएर वा नगएर पनि लालबाबु राउतको सरकारलाई समर्थन गर्ने निर्णय भएको छ,’ नेता यादवले भने— ‘मन्त्रालयको बारेमा कुरा हुन पाएको छैन । हामीले समर्थन गर्ने निर्णय भने गरिसक्यौँ । माओवादीले पनि समर्थन गर्ने निश्चित नै भइसकेको छ ।’

माओवादी केन्द्रले तीन सांसदलाई हटाएपछि प्रदेश सभा सदस्य १०४ जना छन् । बहुमतका लागि ५३ मत आवश्यक पर्दछ । तीन दलका ६३ सांसदको समर्थन राउतले पाउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *