नेपाल भर्सेस जाेर्डन

प्रशिक्षककाे भराेसामा खराे उत्रेलान् खेलाडी ?

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपभन्दा पनि एसियन कप छनौटको तेस्रो चरणमा पुग्न महत्त्वपूर्ण मानिएको  याे खेल कुवेत सिटीमा राति पौने १० बजेपछि शुरु हुनेछ ।

फिफा वरीयतामा ९५ औं स्थानमा रहेको जोर्डनभन्दा नेपाल ७६ स्थान तल छ । बलियो प्रतिद्वन्द्वी जोर्डनविरुद्ध मैदान उत्रँदा खेल जितेर एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्नु नेपालको लक्ष्य हुने प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताए ।

प्रशिक्षक अलमुताइरीले जोर्डनविरुद्ध जितकै लागि खेल्ने बताए । उनले फुटबलमा नतिजाले मात्र अर्थ राख्ने भन्दै जोर्डनविरुद्ध हार नमान्ने बताए । सबै खेल गोलरहित बराबरीबाट सुरु हुने भएकाले मैदानमा हुने प्रदर्शन निर्णायक हुने उनले बताए । ‘हाम्रो लक्ष्य एसियन कपमा छनौट हुने हो । जित्न मैदानमा उत्रने हो । हामीले ताइपेईविरुद्धको खेलजस्तै जोर्डनविरुद्धको खेलका लागि पनि तयारी गरेका छौं ।’

नेपालविरुद्ध खेल्दा जोर्डनलाई पनि दबाब हुनेछ । विश्वकप छनौटमा रहिरहन आज नेपाललाई पराजित गर्नुपर्ने दबाब जोर्डनसामू छ । फिफा वरियतामा माथि रहेपनि नेपालले घरेलु मैदानमा जाेर्डनलाई एक एक गाेलकाे बराबरीमा राेकेकाे थियाे ।

यसपटक नयाँ प्रशिक्षकले धेरैजसाे युवा खेलाडीलाई माैका दिएका छन् ।

जोर्डनलाई समूहमा कम्तिमा दोस्रो बनेर विश्वकप छनौटको तेस्रो चरण र एसियन कपमा सिधै स्थान बनाउने अवसर बाँकी छ । जसले गर्दा नेपालसँग उसले जितकै लागि खेल्नेछ । अघिल्लो खेलमा दोस्रो स्थानको कुवेतलाई अस्ट्रेलियाले पराजित गरेको फाइदा उठाउँदै जोर्डन दोस्रो स्थानमा बलियो हुने रणनीतिमा छ ।

नेपालविरुद्ध स्वभाविक रुपमा हावी हुने दाउमा रहँदा नेपाली प्रशिक्षकको विश्वासमा खेलाडी मैदानमा कसरी प्रस्तुत हुन्छन् त्यो नेपालका लागि महत्वपूर्ण हुनेछ । यसअघि चाइनिज ताइपेइलाई हराएपछि प्रशंसा पाएकाे नेपाली टाेली र प्रशिक्षक अलमुताइरीकाे रणनीतिले कस्ताे नतिजा ल्याउँछ भन्ने नेपाली फुटबलका शुभचिन्तकका लागि चासाेकाे विषय बनेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *