कांग्रेस र माओवादी प्रदेश २ सरकारमा सहभागी हुँदै

जनकपुरधाम । जनता समाजवादी पार्टीमा केन्द्रमा देखिएको विवादको असर प्रदेश २ मा परेको छ । विवादपछि केन्द्रमा बनेको गठबन्धन प्रदेशसम्म कायम हुने भएको छ ।

केन्द्रमा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपा उपेन्द्र यादव पक्षको गठबन्धन बनेपछि सोहीअनुसार प्रदेश २ मा पनि सरकार बन्ने भएको छ । जसपाभित्रका तत्कालीन संघीय समाजवादीको नेतृत्वमा रहेको सरकारलाई काँग्रेस र माओवादीले समर्थन गर्ने भएका हुन् ।

स्रोतका अनुसार केन्द्रीय गठबन्धनको नीतिअनुरुप उपेन्द्र यादवको प्रत्यक्ष निर्देशनमा मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर समूहका चार जना मन्त्रीलाई आइतबार राति बर्खास्त गरेका थिए । महन्थ समूहबाट मन्त्री बनेका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डललाई आइतबार राति बर्खास्त गरिएको थियो ।

केन्द्रको गठबन्धन कायम राख्न प्रदेश सरकारमा माओवादी र कांग्रेसलाई सहभागी गराउन सत्ता समीकरण नै परिवर्तन गर्नुपर्ने भएपछि मुख्यमन्त्री राउतले उपेन्द्र यादवको निर्देशनमा महन्थ समूहका मन्त्री हटाएका हुन् ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रदेश २ मा कांग्रेसको नेतृत्वमा सरकार बनाउन चाहेका थिए । जसका लागि निधिले उपेन्द्र यादवसँग कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका थिए । तर, प्रदेशमा अंकगणितीय हिसाबले उपेन्द्र पक्ष बलियो रहेकोले उसकै नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णयमा कांग्रेस पुगेको छ । प्रदेश सरकार परिवर्तन गर्न काँग्रेस र माओवादीको प्रदेशमा साथ खोजेका यादवले यस विषयमा पछि थप छलफल गर्ने वचन दिँदै शनिबार जनकपुर आएका थिए ।

यादव जनकपुर आएपछि आफ्नो समूहलाई थप शक्तिशाली बनाएका छन् । प्रदेश सभामा ३० सांसद रहेको यादव समूहले ठाकुर समूहका ६ सांसद आफ्नो पक्षमा तान्न सफल भएका छन् । अब संसद्‌मा उपेन्द्र समूहका जसपाको ३६ सांसद पुगेको छ । भने २५ सांसद रहेको महन्थ समूह थप कमजोर बनेको छ । महन्थ समूहको ६ सांसद घटपछि अब उनको समूहमा १९ जना सांसदमात्र रहेका छन् । आइतबार नै ३६ जना सांसदको समर्थनमा जसपा संसदीय दलको नेतामा राउत चुनिएका थिए ।

‘सरकारमा सहभागी हुने विषयमा जसपासँग हाम्रो छलफल चलिरहेकै छ,’ माओवादी केन्द्रका सांसद जगत यादवले भने, ‘हामीले सम्मानजनक सहभागिता खोजेका छौँ, त्यो मिलेपछि हामी सरकारमा जान्छौँ ।’ सांसद यादवले कांग्रेस पनि सरकारमा जाने लगभग लगभग निश्चित नै रहेको बताए । उनले केन्द्रकै गठबन्धनअनुसार अघि बढ्ने निर्णय तीन दलमा बनेको बताए ।

जसपा उपेन्द्र समूहका ३६, काँग्रेसका १९ र माओवादीका आठ सांसदसहित राउत थप बलियो बनेका छन् । माओवादी केन्द्रले तीन सांसदलाई कारवाही गरेर हटाएपछि प्रदेशसभामा हाल १०४ जना सांसद छन् । बहुमतका लागि ५३ मत आवश्यक पर्दछ । तीन दलका ६३ सांसदको समर्थन राउतले पाउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *