विश्वकप र एशियन कप फुटबल छनोट

नेपाललाई भन्दा जोर्डनलाई डर !

काठमाडौं । विश्वकप २०२२ र एशियन कप २०२३ काे छनोट खेलमा जोर्डनविरुद्ध नेपाल सोमबार मैदान उत्रँदै  छ । आमनेसामने हुन लागेका यी दुवै देशका लागि बिर्सन नसक्ने क्षणहरू छन् । २३ जुलाई २०११ नेपाली टीमले नबिर्सिने दिन रह्यो भने त्यसको ५ दिनपछि अर्थात् २८ जुलाई २०११ जोर्डनका लागि पनि सम्झन लायक दिन रह्यो ।

२३ जुलाईमा नेपाल ९-० ले उसको मैदानमा पराजित हुँदा सायदै जोर्डनले नेपालको घरेलु मैदानमा बराबरीमा रोकिनु पर्ला भन्ने सोचेको थियो । तर पाँच दिनपछि नै नेपालले मीठो बदला लिँदै पानीले रुझेको रंगशालामा जोर्डनलाई १-१ को बराबरीमा रोक्यो । १० वर्षअघि नेपालले निकालेको बराबरीको यो नतिजा नै जोर्डनविरुद्धको सर्वाधिक खराब र राम्रो नतिजा हो ।

१० वर्षअघिको टीममा अहिले गोल रक्षक किरण चेम्जोङ र डिफेन्डर रोहित चन्दमात्र स्क्वाडमा छन् । त्यसैले पनि जोर्डनविरुद्ध नेपाल मैदानमा उत्रँदा स्वभाविक रूपमा पुरानो इतिहास कम अर्थपूर्ण हुनेछ‚ यद्यपि विगतबाट पाठ सिक्न भने सकिनेछ ।

त्यसो त करिब २ वर्षअघि जोर्डनसँग नेपालले पुनः एकपटक उसकै मैदानमा खेल्ने अवसर पायो । तत्कालीन प्रशिक्षक योहान कालिनले नेपाली टीमसँगको सीमित अन्तराष्ट्रिय खेलमा आफूलाई औसतभन्दा माथि राखे । कुवेतविरुद्ध बिर्सनलायक रहेपनि जोर्डनसँगको खेलमा भने कालिन सफल भए ।

जारी विश्वकप छनौटअन्तर्गत अब मैदानमा नेपालले १५ अक्टोबर २०१९ मा प्रतिस्पर्धा गर्दा नेपाल ३-० ले पराजित भयो नेपालको हकमा यो नतिजा स्वभाविक भएपनि जोर्डनका लागि भने अनपेक्षित नै थियो । किनकी उसको मैदानमा समूहको कमजोर प्रतिद्वन्द्वी मानिएको नेपालमाथि फराकिलो जित उसका लागि स्वभाविक अपेक्षा थियो । त्यसैले दोस्रो खेलमा जोर्डन नेपालसँग सशंकितमात्र छैन सचेत पनि छ ।

विगत र अहिलेको ऊर्जा
प्रशिक्षक ग्राहम रोबर्टसलाई धेरै नेपालीले अहिले पनि बिर्सन सकेका छैनन् । तत्कालीन प्रशिक्षक रोबर्ट्सले नेपाली टीममा आत्मविश्वास भरेका थिए । हरेक खेलमा नेपालीको ध्यान मैदानमा मात्र हुन्थेन‚ टचलाइनमा पनि उत्तिकै हुन्थ्यो । प्रशिक्षक रोबर्टसको हर्कत हेर्न लायक रहन्थ्यो । खेल अवधि भरमा खेलाडी जतिकै ऊर्जा उनले पनि खर्च गर्थे । पहिलो खेलको फराकिलो हार बिर्साएर खेलाडीलाई टुट्न दिएनन् र रोबर्टसले पाँच दिनपछि नै जोर्डन भूमिको नमिठो विगत बिर्साउन लायक प्रदर्शन गराए ।

प्रशिक्षकलाई सम्झँदै तत्कालीन टीममा फर्वार्ड रहेका भरत खवास भन्छन्‚ ‘उहाँले सधैँ ऊर्जा दिनुहुन्थ्यो । हारलाई पार्ट अफ गेमका रुपमा छोडेर सधैँ राम्रो गर्ने प्रेरणा दिनुहुन्थ्यो‚ जसले गर्दा नै हामीले पाँचदिनमा नै लय कायम गरेका थियौं । जोर्डनमा चरम गर्मी मौसमका कारण खेलाडीहरू राम्रो चल्न नसकेको विगत सम्झँदै उनले भने‚ ‘निकै गर्मी मौसम थियो, हामीलाई त्यहाँको मौसमले साथ दिएन जसले गर्दापनि फराकिलो हार भोग्यौं ।’

सम्भवतः १० वर्षपछि सोही लयका प्रशिक्षक नेपालले भेटेको छ । अहिले नै नेपाली टीमको प्रशिक्षकबारेको टीप्पणी हतारमा गरिएको जस्तो हुन्छ । कुवेती मुलुकका प्रशिक्षक अब्दुल्लाह अलमुतारीले कुवेतमा नै हुने खेलमा स्वभाविक रुपमा दबाबमुक्त बनाएर खेल्नेछन् । अलमुतारीले यो छोटो समयमा जुन जोखिम लिएका छन्‚ त्यसले भने नेपाली फुटबलमा नयाँ ऊर्जा संचार भएको छ । खेलाडीलाई निरन्तर मोटिभेसन र उत्प्रेरणा जगाउने शैली हेर्न लायक छ ।अरब भूमिमा अरेबियन टीमविरुद्ध युवा खेलाडीमा उनले गरेको अपेक्षा पुरा गर्लान्न/गर्लान् त्यो भने खेलाडीकै हातमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *