सुदूरपश्चिममा ओली पक्षले माग्यो मुख्यमन्त्रीको राजीनामा, माधव पक्ष बचाउमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा एमाले ओली पक्ष सांसद्ले मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा मागेका छन् । प्रदेसभा ८औं अधिवेशनको शुक्रबार बसेको पहिलो बैठकमा ओली पक्षका सांसद पठानसिंह बोहराले मुख्यमन्त्री भट्टको राजीनामा माग गरेका हुन् ।

पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि सरकार अल्पमतमा परेको बताए । उनले पार्टीले समर्थन फिर्ता लिइसकेपछि एमाले प्रतिपक्ष भएको भन्दै छुट्टै सिटको व्यवस्था गर्नुपर्नेसमेत माग राखे ।

सभामुख अर्जुन थापाले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै सांसद बोहराले आफ्नो सिटबाट उठेर भने, ‘राष्ट्रिय राजनीतिबाट सुदूरपश्चिम प्रदेश पनि अछुतो छैन । नेकपा एमाले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको अवस्थामा र प्रदेश सभालाई समेत जानकारी गराइसकेको अवस्थामा सिटिंगको व्यवस्थापन भएको मैले देखिन । नेकपा एमाले अब प्रतिपक्ष भएको छ । समर्थन फिर्ता लिइसकेकोपछि सरकार अल्पमत परेको छ । मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ ।’

सांसद बोहराले आफ्नो धारणा राखेपछि माधव पक्षका सांसदले भने मुख्यमन्त्रीको बचाउ गरे । विशेष समयमा एमाले संसदीय दलको तर्फबाट बोल्दै सांसद अमरबहादुर साउदले संसदीय दलले सरकारले समर्थन गर्ने निर्णय गरिसकेकाले प्रदेशको हकमा एमाले प्रतिपक्ष नभएको दाबी गरे । उनले एमालेले सरकारलाई दिएको समर्थन कायमै रहेको जानकारी सभामुखलाई गराए ।

विशेष समयमै माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावलले पनि मुख्यमन्त्रीको बचाउ गर्दै माओवादी नेतृत्वको सरकार बहुमतमै रहेकाले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताए ।

प्रदेशसभामा सभामुखबाहेक २४ सदस्य रहेको नेकपामा माधव पक्षका १८ जना र ओली पक्षका ६ जना खुलेका छन् । पछिल्लो समय प्रदेश सरकार विस्तार भएपछि यसअघि माधव समूहमा रहेका तीन जना सांसद तटस्थ देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *