सेयरमा कीर्तिमान

सातामा ५९ अर्बको कारोबार, ३९ खर्ब ६४ अर्बको बजार पूँजीकरण

काठमाडौं । जेठको तेस्रो साता नेपालको सेयर बजारले नयाँ कीर्तिमान कायम गरेको छ । यो साता कुल ५९ अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो रकम हालसम्मकै सर्वाधिक हो । त्यस्तै सेयर बजार परिसूचक पनि हालसम्मकै सर्वाधिक यो साता २८७५ विन्दु पार गरेर २८५६ विन्दुमा अडिएकाे छ । त्यस्तै बजार पूँजीकरणको सूचकलाई नै हेर्ने हो भने पनि यो साता हालसम्मकै बढी पूँजीकरण भएको छ । पूँजीकरण रकम बढेकै कारण यो साता बजार पूँजीकरण ३९ खर्ब ६८ अर्ब पुगेको छ ।

सरकारले जेठको १५ गते शनिबार आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत बजेट घोषणा गरेको थियो । सरकारले बजेट ल्याएकाे भाेलिपल्ट १६ जेठ आइतबार नै हालसम्मकै सबैभन्दा बढी १७ अर्ब २ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । १७ गते सोमबार ९ अर्ब ९० करोड, मंगलबार ८ अर्ब ५९ करोड, बुधबार ७ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा साताको अन्तिम दिन २० गते बिहीबार भने १६ अर्ब ९० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसरी साताको ५ कारोबार दिनमा ५९ अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको हो ।

यसअघि जेठको दोस्रो साता ४ कारोबार दिनमा ५० अर्ब ७७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसअघि जेठ पहिलो साताको ५ कारोबार दिनमा ५२ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको थियो ।

यसरी हेर्दा कारोबार रकम निरन्तर बढ्दो छ । कारोबार संख्या, सेयर कारोबार परिमाण, सेयर मूल्य, लगानीकर्ताको संख्या जस्ता हरेकजसो सूचक उकालोकै यात्रामा देखिएका छन् । यसरी सेयर बजार बढ्नुमा विभिन्न तत्वले काम गरेको देखिएको छ ।

नयाँ आर्थिक वर्षको बजेट

खास गरी जेठ १६ गते आइतबारदेखि २० गते बिहीबारसम्म(तेस्रो साता)को कारोबारलाई सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा गरिएका नीतिगत व्यवस्थाले केही सकारात्मक प्रभाव पारेको सहज अनुमान गर्न सकिन्छ । किनभने बजेट आएको भोलिपल्टकै कारोबार रकममा निकै ठूलो उछाल देखिएको थियो । सो दिन १७ अर्ब २ करोडको कारोबार भएको थियो ।

सरकारले सेरबजारमा अल्पकालिन भन्दा दीर्घकालिन लगानीलाई प्रोत्साहन गर्ने गरी लगानीकर्ताले तिर्नुपर्ने पूँजीगत लाभकरको दरमा नयाँ बजेटमार्फत परिवर्तन गरेको छ । उक्त दरअनुसार अल्पकालिन लगानीकर्ताले ७ दशमलव ५ प्रतिशत र दिर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

यस व्यवस्था अनुसार १ वर्ष वा सोभन्दा कम समयभित्र सेयर खरिद गरी बिक्री गर्दा प्राप्त हुने लाभबाट सरकारले ७.५ प्रतिशत र एक वर्षभन्दा बढी अवधिमा बिक्री गर्दा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि भने संस्थापक शेयरधनीले १० प्रतिशत र सर्वसाधारण शेयरधनीले ५ प्रतिशत पूँजीगत लाभकर तिुर्नपर्ने व्यवस्था थियो ।

यो व्यवस्थाले ठूलो परिमाणमा सेयरमा दीर्घकालिन लगानी गर्न चाहनेहरुलाई कारोबार गर्न सहज बनाएको विश्लेषण गरिएको छ । यसले सेयर बजारलाई सकारात्मक उचाई प्रदान गरेको छ ।

नवप्रवेशीहरुको बढोत्तरी

केही अघिसम्म लाख पुग्न नसकिरहेको डिम्याट खाताको संख्या अहिले ३५ लाख ४३ हजार ८ सय ३८ पुगिसकेको सिडिएससीको तथ्यांकले देखाउँ छ । नेपालमा सेयरको कागजी प्रमाणपत्र प्रदान गर्ने प्रणाली विस्थापित गरी सेयरको अभौतिकीकरण गरी डिजिटल रुपमा कारोबार गर्ने गरी डिम्याट खाताको प्रणाली सञ्चालनमा आएको केही वर्ष मात्रै भएको छ । त्यसमाथि मेरो सेयर एपमार्फत अनलाइनबाटै प्राथमिक सेयरहरु खरिदका लागि आवेदन गर्ने सकिने, अनलाइनबाट दोस्रो बजारमा सेयरको कारोबार गर्न सकिने जस्ता व्यवस्थाले सेयर कारोबारलाई सहज र झण्झटमुक्त गराउँदै लगेको छ । यसले गर्दा सेयर बजारमा नवप्रवेशीहरुको संख्या ह्वात्तै बढेको छ । नवप्रवेशीहरुले कमाउने चाहनाले वा सिक्ने चाहनाले थोरै मात्रै कारोबार गरे भने पनि कारोबारको संख्या धेरै हुने भएको छ । यसले पनि कारोबार बढाएको छ । अर्कोतर्फ सेयर बजारमा प्रवेश गरेका नव प्रवेशी युवा अझ सुझबुझ र जानकारीका साथ लगानी गर्न थालेकोले पनि बजार बढ्न सघाएको छ ।

कारोनाकालमा अल्पकालिन लगानीको विकल्प

विश्वभर फैलिको कोभिड–१९ को महामारी यतिबेला नेपालमा उत्कर्षमा पुगेको छ । पूँजी जुटाएकाहरुले नयाँ उद्यम व्यापार सुरु गर्न सकेका छैनन् । दीर्घकालिन रुपमा भविष्यको लक्ष्य नै बनाएर उद्यम व्यापार, रोजगारी वा पेशा व्यवसाय गर्न पाएका छैनन् । उद्योग, कलकारखाना, यातायात, शैक्षिक संस्था सबैतिर निशेधाज्ञाले आर्थिक गतिविधि ठप्पप्रायः बनाएको छ । घरमै कोचिएर बस्नुपर्ने यो बेला कतिपयले अल्पकालिन लगानी (सर्टटर्म इन्भेष्टमेन्ट)को विकल्पको रुपमा सेयर कारोबारलाई लिएर दोस्रो बजार प्रवेश गरेका छन् । एक साताअघि किन्ने र अवस्था हेरेर अर्को साता बिक्री गरी नाफा बुक गर्न चाहने यस्ता लगानीकर्ताका कारण पनि सेयर बजार उकालो यात्रामा देखिएको छ ।

अझ धितोपत्र बोर्डले नै नेप्सेलाई धितोपत्र (सेयरलगायत)को बिक्रीपछि गरिने भुक्तानी रासफसाफका लागि राफराफ कोष प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएर चाँडो भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । हाल सेयर बिक्री गरेको ५ कार्यदिनभित्र बैंक खातामा गरिने भुक्तानीलाई अझ कम समयमै भुक्तानी गर्ने व्यवस्था गरियो भने त्यसले सेयर बजारमा कारोबार अझ बढाउने निश्चित नै छ । यसले गर्दा सेयर बजारको उकालो यात्रा अझै कायमै रहने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *