दिगो विकासका लागि नेपालमा यूएनडीपी र एनसेलको साझेदारी

काठमाडौं । नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन् ।

यसका लागि यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागाङ्गोडा लाबे र एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ल समझदारी पत्रमा (भर्चुअल रूपमा) हस्ताक्षर गरेका हुन् ।

साइकल अभियानलाई ‘ग्रिनवे’ अर्थात् ‘हरितमार्ग’ एपको माध्यमलगायतबाट प्रवर्द्धन गरिनेछ ।

शहरी बासिन्दाका लागि दिगो शहरी यातायात र वातावरण-मैत्री जीवनपद्धतिको छनोट प्रवर्द्धन गर्ने उद्देश्यले यो अभियानको शुभारम्भ गत पुस २०७७ बाटै भएको थियो । शहरबासीका लागि स्वच्छ, स्वस्थ र सुपथ रहेको साइकल यात्रा कसरी वैकल्पिक माध्यम हुन सक्छ भन्ने कुराको पुष्टि गर्नु अभियानको ध्येय भएको जनाइएको छ ।

‘विश्व वातावरण दिवस २०२१’ को पूर्वसन्ध्यामा हस्ताक्षरित यस समझदारी पत्रअन्तर्गत यूएनडीपी र एनसेलले आफ्नो व्यावसायिक-सामाजिक जिम्मेवारी (सीएसआर)को हिस्साका रूपमा काठमाडौं उपत्यकाबाहिरका अन्य इच्छुक शहरहरूमा समेत साइकल अभियान विस्तार गर्न सहकार्य गर्ने जनाएको छ ।

अभियानले स्वस्थ शहरका लागि साइकल यात्राको नियमन, नक्सांकन, विश्वास तथा प्रोत्साहनका लागि विद्यमान प्रविधि प्रयोग गर्ने जनाएको छ । मानिसहरूलाई प्रतिस्पर्धात्मक खेलमार्फत् बढीभन्दा बढी साइकल प्रयोग गर्न उत्साहित गरिनेछ, जसले साइकलयात्रीलाई पुरस्कारसँगै प्रोत्साहित गर्ने र खेलमा सहभागी हुने तथा प्रायोजन गर्नेजस्ता वातावरणमैत्री व्यवसायलाई समेत पक्षपोषण गर्दछ ।

यस अभियानले साइकलमैत्री, सुरक्षित पुर्वाधारको बढ्दो लगानीका लागि वकालत गर्दछ । यससँगै आर्थिक, स्वास्थ्यलगायत वातावरणीय तथा कोभिड–सम्बद्ध सुरक्षाका लागि समेत मानिसहरूलाई साइकल जीवनशैली सुरु गर्न वा निरन्तर गर्न उत्प्रेरित गर्नै विश्वास लिइएको छ ।

नेपाल सरकारको ‘विद्युतीय आवागमनका लागि राष्ट्रिय योजना (एनपीईएम)’ले सन् २०५० सम्ममा अन्य विविध उपायसँगै यातायात क्षेत्रमा धाउजन्य इन्धन प्रयोग ५०५ ले घटाई वायु प्रदूषणमा सुधार ल्याउने लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *