कृष्ण थापाको प्रश्न

कांग्रेस जिताउन आफ्नो सांसद हटाउने कस्तो कम्युनिष्ट?

काठमाडौं । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य कृष्ण थापाले आफूलाई सुनको थाली र आकाशे बिल्डिङ्गको सपना नभएको प्रष्ट्याएका छन् । बिहीबार (आज) पार्टीले सांसद पद रिक्त गराउन प्रदेश सचिवालयमा पत्र पठाएपछि मकालु खबरसँग थापाले भने— ‘म विगत ४० वर्षयता राजनीतिमा छु । यो सांसद पदको लालसा पनि छैन । मलाई राजनीतिमै रहेर धेरै गर्नु पनि छैन । मलाई सुनको थाली र आकाशे बिल्डिङ्गको सपना छैन ।’

आफू कम्युनिष्टको सच्चा कार्यकर्ता भएको र मार्स्कवाद, लेलिनवादको अनुसरण गर्ने बताउँदै थापाले प्रश्न गरे— ‘म सोचिरहेको छु कि, यी मधेशवादी दलहरु देशलाई टुक्राउन खोज्ने दलहरुलाई जिताउन आफ्नै सांसदलाई हटाउने कस्तो कम्युनिष्ट परीपाटीको विकास भएछ ? यो कस्तो कम्युनिष्ट हो ?’

बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित थापाले कांग्रेसको पक्षमा हस्ताक्षर नगरेपछि पार्टीले १ वर्षका लागि कारबाही गरेको छ ।

पार्टी छाड्दिनँ
थापाले पार्टी भने नछोड्ने बताएका छन् । आफू कम्युनिष्टको विद्यार्थी भएको र कम्युनिज्मलाई मान्ने भएकोले यसकै सिद्धान्तअनुसार चल्ने बताए । भने— ‘म कहिले कुन पार्टीमा, कहिले कुन पार्टीको पुग्ने मान्छे होइन । पार्टीमा स्वाभाविक ढङ्गले अहिले सैद्धान्तिक विचलन आएको छ । यो सधैं रहन्छ भन्ने पनि रहेन र रहँदैन पनि । रानजीतिक दल हो कहिलेकाहीँ यस्तो विचलनहरु आउनुलाई स्वाभाविक रुपमा लिनुपर्छ ।’

कांग्रेस र मधेशवादी दलहरुले देश टुक्राउन खोजेको आरोप लगाउँदै थापाले त्यस्ता दललाई कहिल्यै नजिताउन भनेका छन् । ‘अब मलाई त यहाँका जनताहरुले कम्युनिष्ट नेता मानेर भोट दिएका छन् । जिताएका छन् । मैले खाली जनताको अपेक्षाअनुरुप चलेको मात्रै हो ।’

निष्कर्षमा थापाले भनेका छन्— ‘म जनमोर्चामै रहन्छु । मलाई पार्टी फेर्न मन पर्दैन र फेर्दिनँ पनि ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *