प्रदेश १

बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्न सिफारिस

विराटनगर । प्रदेश १ को बर्खे अधिवेशन यही जेठ २४ गते दिउँसो बस्ने भएको छ । विराटनगरस्थित प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउने निर्णय गरेको हो ।

प्रदेशसभा भवनमा जेठ २४ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्ने निर्णय बैठकमा भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए । उनका अनुसार बैठक आह्वानका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’समक्ष सिफारिस गरिने छ। अधिवेशनमा प्रि–बजेटमाथि छलफल हुने बताइएको छ ।

कोरोना महामारी र राजनीतिक विवादका कारण कानुनअनुसार तोकिएको समयमा बजेट अधिवेशन आह्वान गर्न नसकेको प्रदेश सरकारले आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्दै छलफलको समय घटाउने भएको छ । जसका लागि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बुधबार अध्यादेश जारी गरेका थिए । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले बजेटमाथिको पूर्वछलफल गर्ने अवधि घटाउन आर्थिक कार्यविधि ऐन, २०७४ संशोधन गर्ने निर्णय गरेको थियो ।

सरकारको सिफारिसमा बुधबार बेलुका प्रदेश प्रमुख ‘प्यासी’ले प्रदेश आर्थिक कार्यविधि (दोस्रो संसोधन) अध्यादेश २०७८ जारी गरिसकेका छन् । मन्त्री कार्कीले संशोधन गर्न बनेको अध्यादेश प्रदेश प्रमुखसमक्ष बुधबार दिउँसो पेस गर्ने निर्णय भएको र बेलुका जारी भएको बताए । ऐन संशोधन गरी १५ दिनअगावै पूर्वबजेट छलफल गराउनुपर्नेमा अब अध्यादेशमार्फत त्यो अवधि घटाएर पाँच दिन बनाइएको उनको भनाइ छ । बैठकलाई लामो समयसम्म सञ्चालन गर्न नसकिने भएकोले पाँच दिनअगावै छलफल सक्ने निर्णयमा प्रदेश सरकार पुगेको हो।

मङ्गलबार भएको विपक्षी दलसँग भएको छफलमा पनि मुख्यमन्त्री शेरधन राईले बजेट अधिवेशन डाक्ने र बजेट पेस हुने तर, छोटो समयमा सक्नुपर्ने बाध्यता रहेको बताएका थिए । प्रदेश प्रमुख ‘प्यासी’बाट अध्यादेश जारी भएपछि बिहीबार पुनः बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वानको निर्णय गरेको हो ।

बजेट अधिवेशन बोलाउन आनाकानी गरेर अध्यादेशबाट बजेट ल्याउने प्रयास भइरहेको भन्दै विपक्षीहरुले प्रदेश सरकारको आलोचना गर्दै आएका थिए । उनीहरुले प्रदेश प्रमुखलाई समेत भेटेर बजेट अधिवेशन नबोलाई अध्यादेशबाट बजेट ल्याउने प्रयास भए विशेष अधिवेशन बोलाउने बताएपछि सरकार अधिवेशन आह्वान गर्ने तयारीमा लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *