बैंकमा भीड : न डर‚ न मापदण्ड

विराटनगर । बुढिगंगा गाउँपालिकाको टंकिसिनवारीमा रहेको एनआईसी एसिया बैंकमा लामो भीड थियो । बैंकमा पैसा जम्मा गर्न जाने भन्दा निकाल्न जानेको भीड बढी देखिन्थ्यो । नजिकै उद्योगधन्दा धेरै भएको कारण शायद मजदुरहरू पैसा निकाल्नका लागि लाइनमा बसेका थिए । कोरोनाका कारण दैनिक मृत्युदर एक सयमाथि पुगेपछि पनि उनीहरुमा कुनै कोरोनाको त्रास देखिँदैन थियो ।

न दूरी कायम भएको देखिन्थ्यो‚ न आएकाहरू सबैले स्वास्थ्य सुरक्षा मापदण्डको पालना नै गरेका थिए । मध्याह्न १२ बजेपछिको यो भीडमा पैसा लिन आएका सुखारू ऋषिदेव भीड देखेपछि पैसा नलिई फर्किए । कोभिडका कारण धेरै मान्छे अस्पतालमा छन्, धेरै जना मरिरहेको अवस्थामा आफू डरैले फर्किएको बताए । ‘बरु पैसा लिन भोलि आउँला,’ उनले भने, ‘छरछिमेकमा सापटी लिएर चलाउँछु तर भीडमा जान्नँ ।’ लाईनमा बसेकाहरु दूरी कायम गरेर नबस्दा थप संक्रमण बढ्ने खतरा देखिन्थ्यो । बैंक प्रशासनले आएका सेवाग्राहीलाई लाईनमा बस्नका लागि सुझाव दिनुपर्नेमा सामान्य जानकारी पनि नदिँदा बैंकहरुबाट संक्रमण घरघरमा पुग्ने त्रास बढेको बैंक रहेको घरका साहु राजन खड्काले बताए ।

No description available.

स्वास्थ्य सुरक्षा सावधानी अपनाउनका लागि पटक पटक बैंकलाई जानकारी गराउँदा समेत बेवास्ता गर्ने गरेको उनको गुनासो छ । आफूहरु घरको माथिल्लो तलामा बस्ने गरेको तर तल लाग्ने भीडका कारण आफैँ असुरक्षित महसुस हुन थालेको खड्काले बताए । बैंकमा आउने सेवाग्राहीलाई ‘दूरी कायम गरेर बसिदिनुस्’ भनेरसम्म जानकारी दिनुपर्ने हो‚ तर त्यसो गरेको देखिएन,’ उनले भने, ‘मैले यो बारेमा पटक पटक बैंकका व्यवस्थापकलाई भनेको छु‚ वास्तै गर्दैनन् ।’

झण्डै १० दिन मोरङ जिल्लाका बैंक तथा वित्तीय संस्था बन्द हुँदा दैनिक गुजारा चलाउनेलाई समेत समस्या हुँदै आएको थियो । भएको रकम बैंकमा जम्मा गर्ने तर आवश्यक परेका बेला बैंक तथा वित्तीय क्षेत्र बन्द हुँदा एकैपटक त्यसको चाप बढेको हो । बैंकका कर्मचारीले भने सेवाग्राहीको चाप बढेको कारण समस्या भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *