महामारीमा मनमौजी

काव्या हस्पिटलमा जनरल बेडकै चार्ज दैनिक १८ हजार‚ संक्रमित र अरु बिरामी एउटै वार्डमा

जनकपुरधाम । कोरोनाको जस्तै लक्षण देखिएपछि धनुषा हरिहरपुरकी कलिया देवी ठाकुरलाई ४ जेठमा जनकपुरको काव्या हस्पिटलमा भर्ना गरियो । निरन्तर ज्वरो, कमजोरी महसुस र सास फेर्न गाह्रो हुने लक्षण देखिएपछि उनलाई आफन्तले अस्पताल पुर्‍याए ।

अस्पताल पुग्दा चिकित्सकले तत्कालै भर्ना गरी आइसोलेसन कक्षमा राख्न सल्लाह दिए । शुरुमै ३६ हजार रुपैयाँ जम्मा गरेर ठाकुरलाई अस्पताल भर्ना गरियो ।

 

तेस्रो दिन अस्पतालले थप १८ हजार रुपैयाँ जम्मा गर्न लगायो । ‘एकदिनको १८ हजारका दरले बेडचार्ज भन्दै पैसा जम्मा गर्न लगाए पनि बिलमा भने शीर्षकमा बेडचार्ज नभनी ‘एडभान्स’ उल्लेख गरिएको छ ।

कलिया देवीका छोरा सुदिप शर्माले बेड चार्जबापत तीन दिनमा ५४ हजार रुपैयाँ लिए पनि बिलमा भने एडभान्स लेखिएको बताए । अस्पताल सञ्चालक डा.एसके सिंहले बेडचार्ज १८ हजार लिएको स्वीकारे पनि त्यसमा अन्य–चार्जसमेत जोडिने भएकाले बेडचार्ज नै भनेर बिल नदिएको दाबी गरे । तर ‘अन्य चार्ज’ भनेको केको चार्ज हो भन्नेचाहिँ उनले बताएनन् ।

‘मेरो आमालाई अक्सिजन लगाइएको पनि छैन, पीपीई सेटसहित अरु सबै औषधि मैले नै किनेको छु‚ भनेपछि अरु त के शुल्क हुन्छ र ?’ शर्माले मकालु खबरसँग भने । वार्डका अरु सबै बिरामीका आफन्तले पनि दैनिक १८ हजार नै शुल्क बुझाइरहेको उनले जानकारी दिए । यसबारे अस्पताल प्रशासनसँग कुरा गर्दा धरौटी नराखे बिरामी भर्ना नलिने बताएको शर्माले बताए ।

 

उपचारमा खटिने डाक्टर र अन्य स्वास्थ्यकर्मीका लागि फार्मेसीबाट पीपीई, ग्लोब्स, मास्क, सेनिटाईजरलगायत सामग्री बिरामीकै आफन्तले ल्याउनुपर्ने शर्माले बताए । ‘१५ सय जति पर्ने पीपीई सेटलाई अस्पतालको फार्मेसीमा ३५ सय रुपैयाँ लिइयो‚’ उनले भने । सबै स्वास्थ्य सुरक्षा सामग्रीको ४५ सय र विभिन्न जाँचबापत थप १७ हजार तिर्नुपरेको उनले जानकारी दिए ।

निजी अस्पताल संघ धनुषाका अध्यक्षसमेत रहेका काव्या अस्पतालका संञ्चालक डा. सिंहले केही दिनअघि कोभिडको उपचारमा संलग्न डाक्टर र स्वास्थ्यकर्मीका लागि पीपीई, ग्लोब्सलगायतका स्वास्थ्य सुरक्षा सामग्री बिरामीलाई किन्न लगाउनु गलत रहेको बताएका थिए । त्यसो गर्ने अस्पताललाई स्पष्टीकरण सोधिने दाबी गरेका डा. सिंहले आफ्नै हस्पिटलमा भने त्यो लागू गरेका छैनन् ।

No description available.

कोभिड र कोभिड नभएका बिरामी एउटै वार्डमा
कोभिडको आशंकामा अस्पताल भर्ना गरिएकी कलिया देवीको रिपोर्टमा कोभिड नभएको अर्थात् नेगटिभ नतिजा आयो । तर उनलाई कोभिड वार्डमा कोभिड संक्रमितहरुसँगै राखेको शर्माले बताए । ‘एकैदिनको १८ हजार रुपैयाँ बेडचार्ज लिएपछि छुट्टै र व्यवस्थित वार्डमा राख्ला भन्ने सोचेको थिएँ‚ तर शुरुमै कोभिड वार्डमै राखियो’ शर्माले मकालु खबरसँग भने । संक्रमित र संक्रमण नै नभएकालाई एउटै आइसोलेसन कक्षमा राखिएको र उनीहरुका कुरुवालाई समेत बस्ने अनुमति दिइएको शर्माले बताए ।

यो छोटो भिडिओमा देखिएको आइसोलेसन वार्डमा राखिएका प्रत्येक बिरामीसँग दैनिक १८ हजार रुपैयाँका दरले शुल्क लिइएको छ । कोभिड संक्रमितहरुसँगै यही वार्डमा राखिएकी कलिया देवीको कोभिड परीक्षण गर्दा उनमा कोभिड संक्रमण नभएको पुष्टि भएको थियो । चर्को शुल्क र उपचारमा लापरबाही गरेपछि तीन दिनपछि बिरामीलाई घर फर्काइएको शर्माले बताए ।

तीन दिनमा डेढ लाख रुपैयाँ खर्च, केही बिल अस्पतालमै गायब
शर्माले आमाको उपचारका लागि ३ दिनमा करिब १ लाख ५० हजार रुपैयाँ सकिएको जानकारी दिए । तीन दिनको १८ हजारका दरले बेड चार्ज गरेर ५४ हजार रुपैयाँ र ल्याबको शुल्कबापत १७ हजार रुपैयाँ गरी ७१ हजारको बिल भएपनि अस्पतालमा आफूले १ लाख २० हजार रुपैयाँ बुझाएको शर्माले बताए ।

 

ईसीजी, भिडिओ एक्सरेलगायतका परीक्षण गरेको बिल भने अस्पतालले नदिएको उनको भनाइ छ । शुल्क तिरेपछि बिरामीलाई ईसीजी, गर्ने कोठामा पठाएको र त्यहाँ ईसीजी गरेर रिपोर्ट लिएको तर बिल भने नदिइएको उनको दाबी छ ।

यसबाहेक फार्मेसीबाट करिब ३० हजार रुपैयाँको औषधि किनेको शर्माले बताए । पीपीईलगायत खरिदमा ४ हजार ५ सयसहित ३० हजार जतिको औषधि किनेको उनको भनाइ छ । तर अस्पताल सञ्चालक डा. सिंह भने बिरामीलाई औषधि अस्पतालले नै दिने दाबी गर्छन् ।

यसअघि काव्या हस्पिटलको फार्मेसीले म्याद गुज्रेको औषधि दिएको भनेर सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *