प्रदेश १

विपक्षीसँग मुख्यमन्त्रीको छलफल, बजेट अधिवेशन बोलाउने तयारी

विराटनगर । दोश्रो कोरोनाको लहर शुरु भएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कामै गर्न नसकेको आरोप प्रतिपक्षी दलले लगाउँदै आएको थियो । कोभिड-१९ को पहिलो महामारीमा जति सक्रियता सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्रीको थियो त्यो अनुसारको सक्रियता दोश्रो लहरको महामारीसँगै प्रदेश सरकारको सक्रियता नदेखिएको निष्कर्ष यसअघि नै विपक्षी दलहरुको बैठकले निकालेको छ ।

सरकारले नागरिकको स्वास्थ्यमा कुनैपनि काम गर्न नसकेको आरोप निरन्तर खेप्दै आएको अवस्थामा विपक्षीसँग मुख्यमन्त्री राईले छलफल र सहकार्य समेत नगरेको आरोप छ । महामारीका कारण नागरिकको ज्यान गइरहेको अवस्थामा प्रदेश सरकार निरिह भएको विपक्षीको आरोप थियो । विपक्षीले मुख्यमन्त्रीलाई नागरिकको सेवामा काम नगरेको मात्र भनेका थिएनन् अधिकांश समय काठमाडौँमा बस्ने गरेको कारण प्रदेशका समस्याको बारको चासो नदिने गरेको भन्दै आएका थिए ।

लामो समयसम्म संवाद विहीन भएका विपक्षी र सरकार पक्षका बिचमा मंगलबार भने समसामयिक बिषयमा छलफल भएको छ । प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग छलफल गरेका हुन् । आगामी बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा मुख्यमन्त्री राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका नेताहरुसँग परामर्श गरेका हुन् ।

छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आंबो र राष्ट्रिय जनता पार्टी संसदीय दलका नेता जयराम यादव सहभागी थिए । छलफलका क्रममाा मुख्यमन्त्री राईले सरकारले केही दिनभित्रै संसद बैठक बोलाउन लागेको जानकारी गराए ।

बढ्दो रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत छलफल भएको जसपा संसदीय दलका नेता जयराम यादवले जानकारी दिए । सरकारले संसदबाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शंका नर्गन समेत विपक्षी दलका नेताहरुलाई आग्रह गरेका छन् ।

छलफलमा प्रदेशमा अक्सिजनको अभाव हुन नदिनका लागि प्रदेशमा उपभोग गरेर बाँकी रहेको अक्सिजन मात्र अन्यत्र पठाउने बारेमा पनि छलफल भएको थियो । यसअघि विपक्षी दलहरुले सरकारले सदन छलेर बजेट ल्याउन खोजेको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *