विश्वकप क्रिकेटमा अब धेरै टिमले खेल्ने, नेपाललगायत एसाेसिएट्स देशलाई फाइदा

काठमाडाैं । एकदिवसिय र ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गर्ने टिमको संख्या बढ्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले एकदिवसिय विश्वकपमा १४ र ट्वेन्टी ट्वेन्टी विश्वकपमा २० देशलाई प्रतिस्पर्धा गराउने निर्णय गरेको हो ।

परिषदले मंगलबार सन् २०२३ देखि २०३१ सम्म आफ्नो कार्यक्रम सार्वजनिक गरेको गर्दै सन् २०२७ र ३१ को एकदिवसिय विश्वकपमा १४ देशले प्रतिस्पर्धा गर्ने जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिले एकदिवसीय विश्वकपमा १० देशले प्रतिस्पर्धा गर्ने गरेका छन् ।

नयाँ निर्णयसँगै एसोसियट देशलाई विश्वकप खेल्न सहज हुने छ । यससँगै नेपालले पनि क्रिकेटमा जोड दिन सके एकदिवसीय विश्वकप खेल्ने सपना साकार पार्न सहज हुने देखिएको छ । यो निर्णय कार्यान्वयन हुन अझै ६ बर्ष बाँकी रहेकाले नेपालले पनि फोकस गरे एकदिवसीय विश्वकप खेल्ने सम्भावना धेरै टाढा नरहेको क्रिकेट क्षेत्रका जानकारहरु बताउँछन् ।

यस्तै आयरल्याण्ड, जिम्बाबेलगायत देशले एशोसिएटस देशहरुमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।

यस्तै, ट्वेन्टी ट्वेन्टी विश्वकपमा सन् २०२४ देखि नै २० देशले प्रतिस्पर्धा गर्नेछन् । यसले नेपाल लागयतका देशलाई ट्वेन्टी ट्वेन्टी विश्वकप खेल्न अझ सहज बनाउने छ । अहिले ट्वेन्टी ट्वेन्टी विश्वकपमा १६ देशले प्रतिस्पर्धा गर्दै आएका छन् । त्यस्तै परिषदले च्याम्पियन्स ट्रफी पुन सञ्चालन गर्ने भएको छ । च्याम्पियन्स ट्रफी सन् २०१७ देखि हुन सकेको छैन ।

एकदिवसिय विश्वकपमा ७-७ टिमलाई दूई समुहमा विभाजन गरिनेछ । शीर्ष तीन तीन टिमले सुपर सिंक्समा पुग्नेछन् । त्यसबाट सेमिफाइनल हुँदै फाइनल हुने छ । ट्वेन्टी ट्वेन्टी विश्वकपमा भने चार समूह हुनेछन् । हरेक समूहबाट शीर्ष दुई टोली सुपर एटमा जानेछन् । जसबाट सेमिफाइनल र फाइनल तय हुनेछ । आइसिसीका शीर्ष आठ टोलीले च्याम्पियन्स ट्रफी खेल्नेछन् ।

त्यस्तै टेष्ट च्याम्पियनशिप फाइनल २०२५, २०२७, २०२९ र २०३१ मा हुने परिषदले जनाएको छ । यहि बर्ष हुने ट्वेन्टी ट्वेन्टी विश्वकपमा १६ र सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपमा भने १० देशले नै प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल सन् २०२२ को ट्वेन्टी ट्वेन्टी विश्वकपको विश्व छनोट खेल्ने तयारीमा छ । समूह ए मा रहेको नेपाललाई विश्वकपमा स्थान बनाउन शीर्ष दुईमा पर्नुपर्ने हुन्छ । शीर्ष २ मा पर्न नसके नेपालले क्वालिफायर प्ले अफ खेल्दै शीर्ष दुईमा रहन सके ग्लोबलमा स्थान बनाउने अर्को अवसर पाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *