त्रिविका विद्यार्थीको प्रश्न- एउटै कक्षामा कति वर्ष पढ्ने ?

काठमाडाैँ । कोरोना महामारीको नकारात्मक प्रभाव सबै क्षेत्रमा परेको छ । धेरै प्रभाव परेको क्षेत्रमध्येको एक हो शिक्षा । जसका कारण विद्यार्थी एकै कक्षामा वर्षौं पढ्न बाध्य भएका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत विभिन्न विषय र तहका विद्यार्थीको शैक्षिक सत्र पछि त पर्यो नै अझै एकै कक्षामा कति वर्ष पढ्नुपर्ने हो भन्ने पनि थाहा छैन ।

०७६ सालको चैत ११ गतेबाट शुरु भएको लकडाउनका कारण त्रिविले २०७६ सालको स्नातक तहका सबै परीक्षा स्थगित गरेको थियो । चैतमा भएको लकडाउन भदौदेखि नै खुल्ला गरिएको थियो । ‘अर्को सूचना नभएसम्मका लागि’ स्थगित गरिएको परीक्षा माघमा गर्ने गरि त्रिविले तालिका सार्वजनिक गर्यो । चौथो वर्षदेखि शुरु गरेर क्रमशः तेश्रो, दोश्रो र पहिलो वर्षको परीक्षा लिने तयारी रहेकोमा दोस्रो वर्षको परिक्षा सकिन नपाउँदै महामारीले उग्र रुप लियो र फेरि निषेधाज्ञा शुरु भयो ।

यता कक्षा १२ को परीक्षा सकिएर नतिजा प्रकाशन भयो । यसले गर्दा स्नातक तह प्रथम वर्षमा ०७६ र ०७७ का गरि दुई ब्याचका विद्यार्थी भए । विद्यार्थीहरु आफ्नो भविष्यमाथि त्रिविले खेलवाड गरेको आरोप लगाउन थालेका छन् ।

यति धेरै विद्यार्थीको भविष्यप्रती त्रिवि थोरै पनि गम्भिर नहुनुले हाम्रो देशको शिक्षा प्रणालीलाई नै उदांगो पारिदिएको छ । त्रिविको अस्तब्यवस्तताले विद्यार्थीको समय र भविष्य नै बर्बाद बनाइएको छ ।’

सिन्धुपाल्चोकका मनसुन खनाल अहिले स्नातक पहिलो वर्षको परीक्षा कुरिरहेका छन् । घरमै बसिरहेका मनसुन त्रिचन्द्र क्याम्पसमा स्नातक पहिलो वर्षका विद्यार्थी हुन् । क्याम्पसले पहिलो वर्षको परीक्षा नलिई दोस्रो वर्षको पढाई अनलाइन मार्फत गर्ने सूचना निकाल्यो । उनको गाउँमा मोबाईल फोनमा राम्रोसँग नेटवर्क नआउने भएकाले अनलाइन कक्षामा सहभागी हुन असमर्थ भएको उनी बताउँछन् । मनसुन भन्छन् ‘त्रिविले व्यबस्थापन गरेर पहिले परीक्षा चाहिँ लिनुपर्ने थियो ।’

यसले गर्दा विद्यार्थीले बनाएको यती समयसम्ममा पढाई सक्छाैँ अनि काम सुरु गर्छौं अथवा अध्ययनका लागि विदेश जान्छौं भन्ने योजनाको कुनै अर्थ नभएको उनको गुनासो छ । ‘४ वर्षे स्नातक तह सक्न ६ वर्षभन्दा बढी लाग्ने भइसक्यो । त्यो पनि सकिन्छ भन्ने ग्यारेन्टी छैन । कती वर्ष लाग्ने हो केही टुंगो छैन ।’ उनले दिक्दारी व्ययक्त गरे, ‘अब अझ अर्को १२ कक्षाका विद्यार्थी स्नातक तहमा आउने बेला भइसक्यो ।’

त्रिविले साउन मसान्तभित्र रोकिएका सबै परीक्षा लिने त भनेको छ । तर यो कसरी सम्भव हुन्छ ? थाहा छैन ।

महामारीबारे पहिले नै अनुमान गर्न नसकिने भए पनि त्रिविले योजना र गृहकार्य बिना नै परीक्षा प्रणाली नै बिजोग बनाएको मान्छन् तेज बोहोरा । उनी के एण्ड के क्याम्पसमा स्नातकोत्तर चौथो सेमेस्टरमा अध्ययन गर्छन् । उनको भोगाई पनि स्नातक पहिलो वर्षका विद्यार्थीको भन्दा कम छैन । स्नातकोत्तर तेस्रो सेमेस्टरको परीक्षा नलिई चौथो सेमेस्टरको कक्षा लिइरहेका छन् । सरासर परीक्षा भएको भए उनी अहिले स्नातकोत्तर तह पूरा गरिसकेका हुन्थे ।

अब बाँकी रहेको लगभग दुई महिनाको समयमा त्रिविले सबै परीक्षा पूरा गरिसक्नेमा भने न त विद्यार्थीले विश्वास गरेका छन् न त त्रिवि नै आश्वस्त देखिन्छ ।

तर कोरोना महामारी र त्रिविको व्यवस्थापन भद्रगोल हुँदा अझ २ वर्ष थप लाग्ने उनको भनाई छ । तेज भन्छन्, ‘यति धेरै विद्यार्थीको भविष्यप्रती त्रिवि थोरै पनि गम्भिर नहुनुले हाम्रो देशको शिक्षा प्रणालीलाई नै उदांगो पारिदिएको छ । पहिलो चरणको महामारीप्रति सबै अनविज्ञ थिए । त्यसैले ढिला भयो । तर लकडाउन खुलिसकेपछि त प्राथमिकताको आधारमा फटाफट सबै परीक्षा लिनुपथ्र्यो नि । तर यहाँ त त्रिविको अस्तब्यवस्तताले विद्यार्थीको समय र भविष्य नै बर्बाद बनाइएको छ ।’

सामाजिक सञ्जालमा पनि त्रिविका विद्यार्थीले आक्रोश पोख्न थालेका छन् । त्रिभुवन विश्वविद्यालय भने रोकिएका सबै परीक्षा आउँदो साउनसम्ममा लिइसक्ने दाबी गरिरहेको छ । स्नातक प्रथम वर्षको परिक्षा फाराम अनलाइनबाट भर्न सूचना जारी गरेको छ । तर विद्यार्थी त्रिविको यो सूचनासँग पनि सहमत छैनन् । सबै विद्यार्थीले अनलाइनमार्फत फाराम भर्न नसक्ने र त्यसरी फाराम भरेर यदी त्रिविले परीक्षा अनलाइनबाटै लिएमा आधा विद्यार्थीको परीक्षा छुट्ने विद्यार्थीको दाबी छ । फाराम भर्न छुटेका विद्यार्थीका लागि अर्को व्यवस्था गरिने त्रिविको भनाई छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी भने साउन मसान्तभित्र परीक्षा लिने गरी गृहकार्य भएको बताउँछन् । त्यसको व्यवस्थापन कसरी भइरहेको छ भन्ने प्रश्नमा उनले भने, ‘हामी सबै व्यवस्थापन गर्छौ तपाईंहरुलाई सूचना आउँछ ।’ ठोस कार्ययोजना भन्दा पनि नियन्त्रक जोशीले ‘सबै मिलाउने र त्यसको प्रयास भइरहेको’ बताए । तर अब बाँकी रहेको लगभग दुई महिनाको समयमा त्रिविले सबै परीक्षा पूरा गरिसक्नेमा भने न त विद्यार्थीले विश्वास गरेका छन् न त त्रिवि नै आश्वस्त देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *