एनआरएनए जापानका अध्यक्ष भण्डारीमाथि छानबिन गर्न माग
‘नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागका केन्द्रीय सदस्य युवराज अधिकारीले छानबिनको माग गरेका हुन्’

काठमाडौँ । एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीमाथि छानबिनको माग गरिएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागका केन्द्रीय सदस्य युवराज अधिकारीले एक विज्ञप्ति जारी गर्दै आर्थिक अपचलनको आरोप लागेका भण्डारीमाथि छानबिनको माग गरेका हुन् ।
भण्डारीमाथि सन् २०१७ मा जापानको गुन्मा केनको सडक दुर्घटनामा परि मृत्यु भएका हृदयेश जिसी र २०१९ मा आईची केनको नागोया सहरमा सडक दुर्घटनामा मृत्यु भएकी ममता तामाङको अन्त्येष्टि तथा उद्धारमा आर्थिक अनियमितता गरेको आरोप छ । सोही विषयमा सत्यतथ्य सार्वजनिक गर्ने भन्दै अध्यक्ष भण्डारीले मे ३० तारिक आइतबारका दिन पत्रकार सम्मेलन गरेका थिए । तर उक्त पत्रकार सम्मेलनमा सबै विवरण सार्वजनिक गर्न नसकेको केन्द्रीय सदस्य अधिकारीले विज्ञप्तिमार्फत भनेका छन् ।
भण्डारीले मृतक जिसीको नेपालमा रहेका परिवारसँग लिएको भनिएको १३ लाख तथा तामाङको घटनामा लागेको ३५ लाख खर्चको सबै विवरण पेस गर्न नसकेको अधिकारीको भनाई छ । ‘नाम मात्रैको पत्रकार सम्मेलन गरेका भण्डारीले आफूविरुद्ध प्रश्नको ओइरो लागेपछि प्रमाण प्रेस गर्न नसकी पत्रकार सम्मेलन नै छोडेर भाग्ने,’ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्ष भण्डारीलाई तुरुन्त छानबिनको दायरामा ल्याउनुपर्छ । र एनआरएनए अध्यक्ष पदबाट तत्काल राजिनामा माग गर्दछु ।’
केन्द्रीय सदस्य अधिकारीले आर्थिक घोटाला भएको भनिएको यो घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई उचित न्याय दिलाउन माग गरेका छन् । साथै उनले दोषी ठहर भए अध्यक्ष भण्डारीमाथि कड़ाभन्दा कड़ा कारबाहीकोसमेत माग गरेका हुन् । भण्डारी एनआरएनएको अध्यक्ष हुनुभन्दा अघिदेखि नै सडक दुर्घटनामा मृत्यु भएको व्यक्तिको अन्त्येष्टि तथा उद्धार कार्यमा सहजीकरण गर्दै आएका थिए ।








